चितवन विशेष
चितवनमा राष्ट्रिय भूमि अधिकार मञ्च छैटौं राष्ट्रिय सम्मेलन सुरु, नयाँ नेतृत्व चयन हुने

चितवन, मंसिर १६–
राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौं राष्ट्रिय सम्मेलन चितवनको नारायणगढमा सुरु भएको छ ।
दुई दिने सम्मेलनको शनिबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समुद्घाटन गरे । सो क्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले भूमिहिनको समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताए । उनले समस्या समाधानका लागि सरकारलाई पनि झकझकाउन आवश्यक रहेको भन्दै चुप लागेर नबस्न भूमिहिनलाई आग्रह गरे । अहिले राष्ट्रिय भूमि आयोगले वितरण गरिरहेको लालपूर्जाको राजश्वलाई आधा घटाउने प्रक्रिया सरकारले अघि बढाएको समेत उनले जानकारी दिए ।
मञ्चका अध्यक्ष केशव निरौलाले २०६१ सालदेखि नै भूमिहिनको समस्या समाधानमा लागि आवाज उठाउँदै आइरहेको भन्दै अझै पूर्णता नपाउनु दुर्भाग्य रहेको बताए । उनले समस्या समाधानका लागि सरकारलाई गम्भिर हुन आग्रह समेत गरे । आइतबार सम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । उद्घाटन सत्र पश्चात आजै बन्द सत्र समेत सुरु भएको छ । त्यसपश्चात निर्वाचन प्रक्रिया अघि बढ्ने मञ्चले जनाएको छ ।
सम्मेलनमा देशभरबाट ३७० जनाको उपस्थिति रहेको भूमि अभियन्ता विश्वास नेपालीले जानकारी दिए । राष्ट्रिय भूमी आयोगका अनुसार देशभर १५ लाख बढी भूमीहिन रहेका छन् । ती मध्ये सबै स्थानीय तहमार्फत १३ लाख ५० हजारले भूमि आयोगमा निवेदन दिएका छन् । आयोगका अनुसार हालसम्म ९ लाख ८८ हजारले लालपूर्जा पाउने प्रक्रियामा अघि बढेको छ भने ४ हजार ४४० परिवारले जग्गा लालपूर्जा पाइसकेका छन् ।
सम्मेलनको समुद्घाटन सत्रमा पूर्व सांसद शान्ता चौधरी, नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका पूर्व मन्त्री मिलनबाबु श्रेष्ठ, नेकपा माओवादी केन्द्र चितवनका इन्चार्ज एवं बागमती प्रदेशका पूर्व मन्त्री घनश्याम दाहाल, विभिन्न अधिकारकर्मी र किसानसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन सत्र मञ्चका अध्यक्ष केशव निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
























