चितवन विशेष

भरतपुर-२९ रातमाटेका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

Banner

चितवन, मङ्सिर १५-

भरतपुर महानगरपालिका-२९ मा रहेको आधारभूत विद्यालय रातमाटेमा अध्ययनरत बालबालिकाले न्यानो लुगा, शैक्षिक, खेल र सरसफाईका सामग्री प्राप्त गरेका छन्। महानगरको पहाडी क्षेत्रमा रहेको यस विद्यालयमा विपन्न समुदायका बालबालिका अध्ययन गर्छन्। चिसो बढेसँगै न्यानो लुगा नहुँदा बालबालिकालाई विद्यालय आउन समस्या भएको थियो। अभिभावकले कापी, कलमसमेत किन्न नसक्दा विद्यार्थी रित्तै विद्यालय पुग्ने गरेका थिए। ‘खेल, सरसफाई त उनीहरुका लागि धेरै परको कुरा थियो,’ प्रधानाध्यापक बलबहादुर कुमालले भने, ‘यसै पनि विद्यार्थी घट्दै रहेका छन्। शैक्षिक सामग्री र न्यानो कपडा नहुँदा भएका विद्यार्थीले पनि विद्यालय छाड्ने हुन् कि भन्ने पिर थियो।’

उक्त विद्यालयमा हामीले नगरे कसले गर्ने संस्थाको समन्वयमा भरतपुरका युवाहरुले सहयोग गरेका हुन्। अमृत काफ्ले, पारश अधिकारी, प्रताप देवकोटा, कुमार अधिकारी, सुमन घिमिरे, डा.दिपक तिवारी, सुदिप ढकाल, कृष्ण ढकाल, विनोद ढकाल, सरोज ज्ञवाली, दामोदर सापकोटा, सरद सुवेदी,जीवन न्यौपाने लगायतले सहयोग गरेका हुन्। सबै विद्यार्थीलाई दुई-दुई सेट सोयटर र ट्राउजर, टोपी, जुत्ता, मोजा, ब्रस, टुथपेष्ट, साबुन र खेल सामग्रीहरु सहयोग गरिएको काफ्लेले जानकारी दिए।

५ कक्षासम्म पढाई हुने यस विद्यालयमा १२ जनामात्रै विद्यार्थी पढ्छन्। यहाँ डेढ घण्टा परबाट हिँडेर पनि विद्यार्थीहरु पढ्न आउँछन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद गुरुङले गरिबी, बेरोजगारी, चेतनाको कमीलगायतका कारण विद्यालयमा बालबालिकाको संख्या घट्दै गएको बताए। ‘बालबालिकालाई कसरी आकर्षित गर्ने भनेर हामी लागिरहेका छौं। घर-घरमा पुगेर अभिभावकलाई सम्झाउने गरेका छौं,’ उनले भने, ‘महानगरले विद्यालयलाई अन्य विद्यालयमा मर्ज गर्न खोजेको छ। त्यसो गर्दा यी बालबालिका पढाईबाट बञ्चित हुन्छन्।’ उनले सहयोग खोज्दै बालबालिकालाई टिकाइराख्नु परेको बताए।

विद्यालयका शिक्षक वलराम जोशीले शिक्षकको संख्या पनि कम हुँदा बहुकक्षा शिक्षण प्रणाली अपनाउनुपरेको बताए। अहिले यहाँ कक्षा १ देखि ५ सम्म पढाउन २ जनामात्रै शिक्षक छन्। १ जना शिशु शिक्षिका छन्। जोशीले अहिले विद्यालयलाई कम्तीमा एक जना शिक्षक आवश्यक रहेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>