Breaking News

भारतीय आयात नरोकिँदा चितवनको तरकारी र फलफूलले बजार पाएन, महानगर भन्छ: हामी रोक्न सक्दैनौं

Banner

मधुसूदन दवाडी

चितवन, मंसिर १४

चितवनका किसानहरु तरकारी र फलफूल नबिकेपछि समस्यामा परेका छन् ।

निकै ठूलो लगानी गरेर लगाइएको फलफूल र तरकारीले बजार नपाएपछि किसानहरु समस्यामा परेर धमाधम तरकारी जोत्न र फलफुलको बोट काट्न थालेका हुन् ।

भरतपुरको गुञ्जनगरका धेरै किसानले धमाधम मेवाको बोट काटेर वैकल्पिक खेती लगाउने तयारी गरेका छन् । कृषि मन्त्रालयको सहसचिवबाट सेवानिवृत्त भएपछि बिगत चार वर्षदेखि कृषि कर्ममा लागेका दुर्गा दवाडीले मेवा बिक्री नभएपछि आठ कठ्ठामा लगाएको मेवाको बोट काटेर फालेको नारायणी अनलाइनलाई बताए । उनले अझै पाँच कठ्ठाको काट्न नै बाँकी रहेको जानकारी दिए । उनले भने, ‘ बिउ निकै महंगो पर्ने रेड लेडी जातको मेवा गाडीमा हालेर नारायणगढ पु¥याउँदा तेलको खर्च पनि उठेन । यो मेवाको ५० बोट हुने बिउलाई दुई हजार रुपैयाँ पर्छ ।’ उनका अर्का काठमाडौँका साथीले पनि गुञ्जनगरमा लगाएको दुई बिघामा मेवाको बोट काटेर फालेका छन् । उनीहरु मात्र होइन वर्षाे देखि खेती गर्दे आएका गुञ्जनगरका अन्य तरकारी किसानहरुले पनि बजार नपाएपछि टाउको समात्ने गरेको दवाडीले जानकारी दिए ।

फलफूल मात्र होइन चितवनका अन्य स्थानीय तहमा तरकारी खेतीमा लागेका किसानहरुको निराशा त्यस्तै छ । रत्ननगरको भानुचोकमा बिगत २० वर्षदेखि तरकारी खेती गर्दे आएका मोहमद नविहसन मियाले पनि तरकारीले बजार मूल्य नपाउँदा खेतमा नै तरकारी कुहिन थालेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ पाँच रुपैयाँ प्रतिकिलोमा पनि काउली र काक्रो बिक्न छाड्यो । अन्य तरकारी पनि बजारमा बिक्न छाडेको छ ।’ सरकारले भारतीय तरकारी रोक लगाएर बजारको सुनिश्चितता गर्न सके पनि किसानलाई केही राहत हुने मियाले बताए ।

तरकारीमा मुनाफा निकाल्न नसकेपछि कतिपय किसानले तरकारी खेती कम क्षेत्रमा गर्न थालेका छन् । चितवनको पुरानो तरकारी किसान खैरहनीका पुरन महतोले पहिले २० बिघामा सहकारीमार्फत् तरकारी खेती गर्दे आए पनि तरकारीले बजार पाउन छाडेपछि अहिले चार बिघामा खेती गरिरहेका छन् । उनले सरकारले तरकारी आयात होइन निर्यात गर्ने वातावरण बनाउनु प¥यो भन्दा कसैले नसुनेको गुनासो गरे । उनले भारतबाट तरकारी राति राति पनि आइरहँदा किसानहरु समस्यामा परेको बताए । उनले भने, ‘ खैरहनीमा नै काउँली पाँच रुपैयाँ प्रति किलोमा पनि बिक्री नभएपछि एक जना साथीले जोतेका छन् । बजार खोज्ने तर्फ स्थानीय सरकारको पनि ध्यान जानुपर्ने उनले बताए ।

बिहान कलेज पढाउँदै दिउँसो भरतपुरको लक्ष्मीपुरमा फलफूल खेती गरेका विष्णु ज्ञवालीले पनि नेपालको उत्पादन हेरेर सरकारले आयात रोक्नुपर्ने विचार राखे । उनले अम्बा, ड्रयागन फ्रुट र एभोकाडो उत्पादन गरिरहेका छन् । उनले भारतबाट सबै खालका फलफूल आयात भइरहेकोले समस्या भएको बताए ।

के भन्छन् सरोकारवाला निकायहरु ?

फलफूल तथा तरकारी किसानहरुको समस्या कसरी समाधान गर्ने भन्ने स्थानीय तह र कृषि ज्ञान केन्द्रसँग पनि स्पष्ट रणनीति छैन । किसानका समस्याहरु सुनाउँदा उनीहरु पनि अन्यौलमा नै छन् भने आयात तथा निर्यातको विषय उनीहरुको अधिकार क्षेत्रभित्र नपर्ने बताउँदै आएका छन् ।
भरतपुर महानगरबाट कृषि क्षेत्रलाई पनि हेर्ने आर्थिक प्रशासन महाशाखा प्रमुख तेजेन्द्र पौडेलले भारतबाट फलफूल तथा तरकारी रोक्ने काम महानगरको नभई केन्द्रीय सरकारको भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ यो विषय सम्बन्धित निकायमा हामीले पनि भनिराखेका छौं । बिक्री नभए वैकल्पिक खेती गर्न सक्नुपर्छ । यता धेरै उत्पादन हुँदा तरकारी र फलफूलको आयात रोक्ने नहुदा आयात गर्ने प्रणालीको विकास गरे राम्रो हुन्छ ।’
कृषि ज्ञान केन्द्र चितवनकी बागवानी अधिकृत स्वस्तिका चौहानले आफूले व्यवसायिक किसानलाई सोध्दा मेवा बिकेको नै पाएको नारायणी अनलाइनलाई बताइन् । उनले भारतबाट के कती फलफूल र तरकारी आइरहेको छ भन्ने आफूलाई जानकारी नभएको बताइन् ।

वैकल्पिक उपायको अभाव

फलफूल नबिक्दा त्यसबाट रक्सी, जुस बनाएर बजारमा लैजान सकिन्छ तर चितवनमा त्यस्तो कुनै प्रविधि छैन । अन्य पेसा र आम्दानी भएका रहरले खेती गर्नेहरु उत्पादन बिक्री नभए पनि खासै समस्यामा नपरे पनि कृषि पेसामा निर्भर भएका फलफूल तथा तरकारी किसानहरु भने उत्पादित बस्तु बिक्री नहुदा आर्थिक समस्यामा पर्दे आएका छन् । कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले कृषि व्यवसायलाई नीतिगतरुपमा प्रोत्साहन गर्न खोजे पनि बजारको व्यवस्थापनमा भने खासै ध्यान दिएको देखिँदैन । बिगत एक दशकदेखि चितवनका किसानहरु उस्तै खालको समस्यामा रुमल्लिरहनु निकै दुःखद् विषय हो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>