चितवन विशेष
भरतपुरमा देउँसीभैलोमा संकलन गरिएको रकमबाट भुवनबस्तीका विद्यार्थीलाई शैक्षिक सामग्री

पुनम मगर
भरतपुर, मंसिर ११-
भरतपुरमा देउँसीभैलोबाट संकलन गरिएको रकमबाट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
प्रगति युवा क्लब भरतपुर–१७ र १८ का युवाहरुले देउँसीभैलोबाट संकलन गरेको रकमले भरतपुर–१८ को आधारभूत विद्यालय भुवनबस्तीका जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री वितरण गरेका हुन् ।
सोही रकमबाट विद्यालयका चार जना अति बिपन्न विद्यार्थीलाई छात्रवृत्ति पनि वितरण गरिएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द गुरुङले क्लबका भाइबहिनीहरुले सहयोग गरेर आफू यहीँ विद्यालयमा अध्ययन गरेको प्रमाणित गर्न सफल भएको बताए । विद्या आर्जन गरेको मन्दिरलाई सम्झेर यो सालमा नै स्थापना भएको क्लबले पहिलो वर्षनै यति राम्रो काम गरेकोमा उनले क्लबलाई धन्यवाद दिए ।
कार्यक्रममा भरतपुर–१८ का निवर्तमान जनप्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार जितबहादुर तामाङले क्लबले राम्रो उदाहरणीय काम गरेकोमा बधाई दिए । उनले क्लबले सधै यसप्रकारको सामाजिक सेवाको कार्य गरेर जिवित राख्नको लागि शुभकामना समेत दिए ।
क्लबका अध्यक्ष सुगम नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद अधिकारीले आफूले अध्यापन गराएको विद्यार्थीहरुले समाजमा देउँसीभैलो खेली शैक्षिक सामग्रीमार्फत उक्त रकम समाजमा नै फिर्ता गरेकोमा आफूलाई खुसी लागेको बताए । कार्यक्रममा गाँजीपुर टोल विकास संस्थाका अध्यक्ष दिनेश तामाङले अहिलेको युवा पिढी सामाजिक सेवामा लागेको देख्न पाउँदा खुसी लागेको बताउँदै आफूबाट सधै नै क्लबलाई सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, भुवनबस्ती टोल विकास सस्थाका अध्यक्ष वनराज गुरुङले कार्यक्रममा संस्थाको बारेमा जानकारी गराउँदै आफूबाट सहयोग सधै नै क्लबले पाउने बिश्वास दिलाए ।
विद्यालय ब्यवस्थापन समितिका सल्लाहकार हरिकृष्ण सापकोटाले विद्यालयका पूर्वविद्यार्थीले अहोरात्र खटिएर उठाएको देउँसीभैलोको रकमबाट एउटा राम्रो नयाँ कामको सुरुवात भएको विचार राखे । क्लबका सदस्य पुरन विकले स्वागत मन्तव्य राखेको कार्यक्रममा राईगन्ज टोल विकास संस्थाका अध्यक्ष सिंग तामाङ, ब्यवस्थापन समितिका सल्लाहकार बादलसिंह थापा, समाजसेवी तारा विकलगायतको सहभागिता रहेको थियो । यो वर्ष स्थापना भएको क्लबमा ४० जना सदस्यहरु रहेका छन् ।
























