चितवन विशेष
लायन्स क्लबद्वारा भरतपुर अस्पताललाई ६६ लाख रुपैयाँका तीन थान डायलासिस मेसिन सहयोग

चितवन, मंसिर ९–
लायन्स क्लब इन्टरनेशनल फाउण्डेसनले भरतपुर अस्पतालाई हेमोडायलासिस मेसिन हस्तान्तरण गरेको छ ।
फाउण्डेसनले भरतपुर अस्पतालको लागि पठाएको तीन थान हेमोडायलासिस मेसिन शुक्रबार अस्पताललाई हस्तान्तरण गरेको हो ।
लायन्स क्लब इन्टरनेशनल ३२५ आरका एक्जुकेटिभ कोचिफ बालगोपाल चुकेका अनुसार फाउण्डेसनको कोभिड–१९ रिलिफ ग्रान्ट अन्तर्गत प्रदान गरिएको डायलासिस मेसिनको लायन्स क्लब इन्टरनेशनल ३२५ आरका डिष्ट्रिक्ट गभर्नर आरएस महतो र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललाई सो मसिन हस्तान्तरण गरेका छन् ।
क्लबका डिष्ट्रिक्ट एक्जुकेटिभ कोचिफ चुकेकाअनुसार अस्पताललाई प्रदान गरिएको मेसिनको मूल्य करिब ६६ लाख रुपैयाँ रहेको छ । फाउण्डेसनले पाँच वटा हेमोडायलासिस मेसिन पठाएकोमध्ये दुई वटा मेसिन यसअघि नै वीरगञ्जको नारायणी क्षेत्रीय अस्पताललाई उपलब्ध गराइसकिएको चुकेको भनाइ छ ।
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर महतोले क्लबले स्वास्थ्यको क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको बताए । आगामी दिनमा समेत अस्पतालसँग सहकार्य गर्दै अगाडि बढ्ने महतोको भनाइ छ । हेमोडायलासिस मेसिन हस्तान्तरण कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ आरका पूर्वडिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टलगायत अस्पतालका चिकित्सकहरुको सहभागिता रहेको थियो ।
























