Breaking News

चितवनमा सत्ता गठबन्धनका दलहरुले दुर्गा प्रसाईलाई लक्षित गर्दै भनेः कसैको भड्कावमा नलाग

Banner

चितवन, मंसिर ४-

चितवनका सत्ता गठबन्धनमा आवद्ध दलहरुले दुर्गा प्रसाईले मंसिर ७ गते काठमाडौँमा गर्ने प्रदर्शनलाई लक्षित गर्दै कसैको भड्कावमा नलाग्न नागरिकलाई अपिल गरेका छन् ।

सत्ता गठबन्धनमा आवद्ध पाँच दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, ने.क.पा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्तरुपमा आज एक विज्ञप्ति प्रेषित गर्दै सो आव्हान गरेका हुन् ।

विज्ञप्तिले घुमाउरो ढंगले प्रसाईको प्रदर्शनलाई लक्षित गर्दै संविधानको कार्यान्वयनमार्फत् जनताको अपेक्षाहरुको सम्बोधन गरी सुशासनको प्रत्याभूति दिन सरकार र राजनीतिक दलको दायित्व रहेको स्मरण गराउँदै सबै प्रकारका षडयन्त्र र अतिवादका विरुद्ध एकताबद्ध हुन सबै नागरिकलाई आव्हान गरेको छ । विज्ञप्तिमा कुनै किसिमको भड्कावमा नलाग्न र नलगाउन सबै राजनीतिक दल, नागरिक समाज, सामाजिक अगुवा र आम नागरिकमा राजनीतिक दलहरुले अपिल गरेका छन् ।
विज्ञप्तिमा मुुलुकलाई अस्थिर बनाई अमुक शक्तिकेन्द्रहरुको क्रिडास्थल बनाउने र अग्रगमनका विरुद्ध प्रतिगमनलाई स्थापित गर्ने षडयन्त्रहरु देखापरेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको यस संगिन घडीमा जनतालाई विभिन्न बहानाम भड्काउने, उत्तेजित पार्ने र अस्थिर राजनीतिक चलखेल राष्ट्र र राष्ट्रियताको लागि घातक हुन्छ । समाजमा व्याप्त भ्रष्ट्राचार र कुशासनका विरुद्ध दृढतापूर्वक उभिएर संविधानको संरक्षण गर्दै मुलुकलाई निकास दिनेतर्फ सरकार र गठबन्धनमा आवद्ध दलहरु अगाडि बढिरहेको अवस्थामा सामाजिक वातावरणसमेत खलल पार्ने गरी गरिएका क्रियाकलापले गम्भीर परिस्थितिको संकेत गरेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>