देश/प्रदेश

क्याम्प राख्न खोज्दा काठमाडौँको लप्सीफेदीमा स्थानीयले गरे सुरक्षाकर्मीमाथि आक्रमण

Banner

काठमाडौं, मंसिर २-

सरकारले काठमाडौँको शंकरापुर नगरपालिका–३ लप्सीफेदी क्षेत्रमा निर्माणाधिन सबस्टेसन र प्रसारण लाइन निर्माणको सुरक्षार्थ प्रहरी पोष्ट राख्ने निर्णय गरेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पटकपटक वार्ता र संवाद गरिए पनि सहमति नभएपछि सबस्टेशनजको सुरक्षाको लागि पोष्ट राख्न लागेको हो ।

जिल्ला सुरक्षा समिति, काठमाडौँको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत् सबस्टेसन र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय गरेको थियो ।

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जा सचिव दिनेशकुमार घिमिरेलगायत मन्त्रालयका उच्च अधिकारीले पटकपटक जायज माग पूरा गर्ने र सबस्टेसन र प्रसारण लाइन निर्माणका लागि सहमति जनाउन आग्रह गरेका थिए । स्थानीयवासी र उनीहरूका प्रतिनिधिलाई वार्तामा सहभागी भए पनि कुनै पनि विषयमा सहमति जनाउन अटेर गरेको मन्त्रालयको भनाइ छ ।

सरकारको पछिल्लो निर्णयका आधारमा शुक्रबार बेस क्याम्प स्थापना गर्न जाँदा त्यस क्षेत्रका केही स्थानीयले रुख ढालेर बाटो अबरुद्ध गर्नुका साथै सुरक्षाकर्मीलाई ढुङ्गामुढा गरेका थिए । त्यस क्रममा केही प्रहरी घाइते भएका थिए । प्रहरीले आक्रामणमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ ।

नेपाल विद्युत प्राधिकरणले शङ्खरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४००, २२० र १३२र११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।

सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने ५० जना जग्गाधनीका करिब एक सय ७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । जग्गाधनीहरूले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्तिवापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>