स्वास्थ्य
उर्लाबारी आगलागी घटनामा परेर घाइते भएका ६ जनाको अवस्था गम्भीर

काठमाडौं, मंसिर १-
मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । शुक्रवार घाइतेहरुको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई उपचारमा खटिनुभएका चिकित्सिकहरुले यस्तो जानकारी गराएका हुन् ।
उपचाररत २५ मध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको अस्पतालकी डाक्टर निजिना ताम्राकारले बताइन् । उनले जलनको घटनामा सबै घाइतेहरुको अवस्था गम्भीर नै हुने बताइन् । उनले चिकित्सकहरु घाइतेहरुको उपचारमा लागिरहेको बताइन्।
घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका मन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर घाइतेको उपचार गराउने प्रक्रिया शुरु गरिएको बताए । उनले अमेरिकाबाट आइतवारसम्म चिकित्सक आइसक्ने थप उपचार थाल्ने जानकारी गराए । उनले सरकारले घाइतेको जीवन रक्षाका लागि आवश्यक सबै काम र सहयोग गर्ने प्रतिवद्धता जनाए ।
उनले भने ‘५-६ जना बिरामीको उपचार थप जटिल छ भन्नुभएको छ, आईतवार अमेरिकाबाट थप डाक्टर मगाएर उपचार गर्ने जानकारी भएको छ । सरकारले जीवन रक्षाका लागि आवश्यक काम गर्नेछ । प्रधानमन्त्रीसँग पनि यस विषयमा बसेर थप छलफल गरेर जटिल खालको शल्यक्रिया र उपचार गर्न सम्भव हुनेगरी काम गर्नेछौँ । सरकारले गर्नसक्ने जति गर्नेछ । बिरामीको उपचारमा पहिला ध्यान दिने, उनीहरुलाई निको पार्नेछौँ ।’
गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौं ल्याइएको थियो।