Breaking News
ठोरी नाका खुलाउन उद्योग वाणिज्य संघ चितवनद्वारा राजनीतिक दलहरुको ध्यानाकर्षण

चितवन, कात्तिक २३-
देशमा देखिएका आर्थिक मन्दी, ठोरी नाका सञ्चालन र पूर्वाधार निर्माणको ढिलासुस्तीको बारेमा उद्योग वाणिज्य संघ चितवनले राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ ।
उद्योग वाणिज्य संघ–चितवनको बैठक कक्षमा चितवनका राजनीतिक दलका प्रमुखहरु बोलाएर नाका सञ्चालनबारे ध्यानाकर्षण गर्दै समसामयिक विषयमा छलफल गरेको हो । यो नाका सञ्चालनमा आए चितवनका उद्योग व्यवसायी र सर्वसाधारण नागरिकलाई धेरै सहज हुने उद्योग वाणिज्य संघको विश्वास छ ।
कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठले वर्तमान आर्थिक मन्दी, ठोरी नाका सञ्चालन, पूर्वाधार निर्माणमा भएको ढिलासुस्तीयातायातका साधनहरुको पहुँच र व्यवस्थापन, व्यवसायिकअवस्थाको बारेमा सबै राजनीतिक दलरुहको ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा सबै राजनीतिक दलहरुले हामी सबै पार्टीको उद्देश्य चितवन जिल्लाको भौतिक एवम् सामाजिक विकास गरी समृद्ध चितवन निर्माण गर्ने भएकोले सबै पार्टीको साझा धाराणा बनाएर अगाडि बड्ने प्रतिबद्धता व्यक्त गरे । छलफल कार्यक्रममा अहिले निर्माणधिन गोन्द्रयाङ–पुलचोक सडक छिटो सम्पन्न गर्नका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने, पूर्वचितवन, माडी र पश्चिम चितवनबाट आउने यात्रुवाहक सवारीसाधनालाई यात्रु झार्ने र ओराल्ने गरी नारायणगढ बजार पुलचोक, पोखरा बसपार्क हुदै बाइपास रोड परिक्रमा गराउका लागि साझा अवधारणा तय भएको छ । ठोरी नाका खुलाई सञ्चालनमा ल्याउन सम्बन्धित निकायमा पहल गर्न सबै राजनीतिक दलले मिलेर पहल गर्ने प्रतिबद्धता गरेका छन् । छलफलमा चाडर्वमा प्रयोग गरिने फूल स्थानीय उत्पादित फूलहरुको प्रयोग गरी पुष्प व्यवसायीहरुको प्रवद्र्धन गर्न सबैले आ–आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्ने भनी प्रतिबद्धता आएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा एमाले चितवन जिल्ला उपाध्यक्ष कमल पाठक, नेकपा माओवादी केन्द्र चितवन जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका संयोजक श्रीकृष्ण भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टी चितवन जिल्ला उपाध्यक्ष जिवलाल पुरी, नेकपा एकीकृत समाजबादीका चितवन जिल्ला अध्यक्ष अरुणपीडित भण्डारी, नेकपा विप्लव चितवन जिल्ला अध्यक्ष उत्सव, राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगर संयोजक सिता ज्ञवाली, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी ,उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, पूर्वअध्यक्ष रामप्रसाद श्रेष्ठ, प्रचण्डलाल प्रधान, कल्याण जोशी, सहनलाल प्रधानलगायत संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो । संघका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा भएको संयुक्त छलफल कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।