कृषि

राष्ट्रपति कृषक पुरस्कारबाट चितवनका चार किसान सम्मानित

Banner

पुजा ढकाल\निरुता बि क

चितवन, कात्तिक २२

चितवनमा राष्ट्रपति कृषक पुरस्कारबाट चार जना किसान सम्मानित भएका छन् ।

आज कृषि ज्ञान केन्द्र चितवनको आयोजनामा भएको कार्यक्रममा जिल्लाका केरा, तरकारी, मौरी र दूध किसान गरी चार किसान सम्मानित भएका हुन् ।

ज्ञान केन्दले भरतपुर महानगरपालिका–२८ मा रहेर बिगत १० वर्षदेखि ज्योति कृषि फार्म सञ्चालन गर्दै केरा खेती गर्दै आएका सुन्दरप्रसाद न्यौपाने, भरतपुर–२४ मा तरकारी खेती तथा भैँसीपालन गर्दै आएकी रतिमाया गुरुङ्, कालिका नगरपालिका–६ मा रहेर मौरीपालन गर्दै आएका शिवप्रसाद शर्मा पौडेल र भरतपुर महानगपालिका–८ मा पशुपालन गर्दै आएका शिवलाल कँडेललाई नगत १० हजारसहित सम्मान गरेको हो ।

केरा कृषक न्यौपानेले कृषकको मेहनत र लगनलाई ज्ञान केन्द्रले प्रोसाहन गरेकोमा खुसी व्यक्त गरेका छन् । उनले ज्ञान केन्द्रले कृषकलाई प्रोसाहन, सम्मान गरिरहे कृषकको काम अभियान सफल हुने विश्वास व्यक्त गरे ।

यस्तै मैरीपालक कृषक शर्माले २०५८ सालदेखि मौरीपालन गर्दै आएको सुनाए । उनले मौरीपालन अरु कृषि पेसाजस्तो नभएको बताए । उनले मौरीपालन गर्दा धेरै ठाउँठाउँमा हिड्नुपर्ने, महले बजार नपाउने गुनासो गरे । उनले भने,‘ महले बजार पाउन गाह्रो छ । चितवनमा महको खपत राम्रो छ तर बाहिरी देशबाट आएको महका कारण यहाँ उत्पादित महले बजार पाएको छैन ।’ उनले प्रदेशमा समन्वय गरेर यस समस्याको समधान गरिदिन आग्रह गरेका छन् ।

कृषक शिवलाल कँडेलले आफू सम्मानित हुँदा खुसी लागेको बताए । उनले बजारको अवस्था हेर्दा दुःख लागेको सुनाए । उनले आगामी दिनमा दूधको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।

यस्तै तरकारी तथा पशुपालक किसान गुरुङले ज्ञान केन्द्रले आफ्नो काम मेहनतप्रति सम्मान गर्दा खुसी लागेको बताइन् । उनले कृषि पेसामा समाजले हेर्ने नजर अलि फरक रहेको सुनाइन् । उनले भनिन्, ‘समाजले कृषि पेसामा हेर्ने नजर अलि फरक थियो । केही गर्न नसकेर कृषि पेसामा गएको भन्ने सोच थियो । अहिले समाजमा परिवर्तन आएको छ । मानिसको सोचमा परिवर्तन आएको छ ।’ उनले अरु किसानले यस्तै सम्मान पाए अझ राम्रो हुने बताइन् ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा पशुपंछी विकास मन्त्रालय बागमती प्रदेशका कृषि सचिव राजेन्द्र कोइरालाले ज्ञान केन्द्रबाट सम्मानित भएका किसान लामो समयदेखि इतिहास बोकेर हरेक परिस्थितिको सामान गर्दै यहाँसम्म आइपुगेको बताएका छन् । त्यस्तै कृषि विकास निर्देशनालय बागमती प्रदेशका कार्यालय प्रमुख तेजप्रसाद दवाडीले सबै जिल्लामा ज्ञान केन्द्रले पुरस्कार दिने व्यवस्था रहेको बताए । उनले पहिलैदेखि सरकारले कृषकको कामको मूल्याङ्कन गरी पुरस्कार दिँदै आएको उनको भनाइ छ ।

त्यस्तै ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कँंडेलले पुरस्कृत भएका सबै किसान जिल्लका सबै किसानको प्रतिनिधित्व भएकोले शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि कृषि कर्ममा लाग्न उनले अनुरोध गरेका छन् । ज्ञान केन्द्र चितवनले पुरस्कार वितरणको लागि कृषकसँग आवेदन माग गरेर सूचना जारी गरेसँगै केन्द्रमा ३२ किसानको आवेदन परेको र उक्त आवेदन पश्चात क्षेत्रगत अनुगमन गदै केन्द्रले उत्कृष्ट चार किसान छनोट गरेको ज्ञान केन्द्रको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>