चितवन विशेष
भरतपुर भ्रमण वर्षलाई सफल बनाउन आशिष गुरुङले गरे ‘ग्रेटर नेपाल’को यात्रा

चितवन, कात्तिक २२–
भरतपुर महानगरपालिकाले घोषणा गरेको भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउने उद्देश्यले भरतपुरका आशिष गुरुङले ‘ग्रेटर नेपाल’को यात्रा गरेका छन् ।
राइनो राइडर्स क्लबका प्रतिनिधि गुरूङले ‘काँकडा टु टिस्टा’ नाम दिएर ‘ग्रेटर नेपाल’को यात्रा गरेका हुन् । उनले राष्ट्रिय झन्डासहित पश्चिमको काँकडाबाट पूर्वमा टिस्टासम्म बुलेट बाइकमा यात्रा गरेका हुन्।
कुल २२ दिनको तालिका लिएर कात्तिक ८ गते राति करिब २ बजेतिर भरतपुर महानगरपालिकाबाट यात्रा थालेका गुरूङले १३ दिनमै यात्रा सफल बनाएका थिए । कुल पाँच हजार किलोमिटरको यात्रा गरेको आफू नै पहिलो व्यक्ति भएको आशिषले दाबी गरेका छन्।

उनले यसअघि पूर्वमा दार्जिलिङ–सिक्किम गएर १० दिनको यात्रा सफल पारेका थिए। त्यसबाहेक अन्य छोटा यात्रा नियमित गर्दै आइरहेका छन्। उनलाई यो यात्राका क्रममा भरतपुर महानगरपालिकासँगै बुलेट बाइकर्स जोन वर्कसप, भिन्टेज मोटरसाइकल वर्कसप, अल्फा जोन ड्रिङ्किङ वाटर, मोटुल, सुमो सुशी, ग्रीन लिफ, होटल भिस्टा चितवन, रोयल राइनो राइडर्स चितवन, फोर नेपाललगायतका संघसंस्थाले प्राविधिक सहयोग गरेका थिए।
यस्तै, साथ र सहयोग मिलेमा आगामी दिनमा पशुपतिनाथदेखि केदारनाथसम्मको यात्रा गर्ने योजना उनले बनाएका छन्। त्यसका लागि समय लाग्ने अनुमान छ । यो यात्रालाई उनले ‘हेड टु टेल’ शीर्षक दिएका छन्।

























