कर्णाली

जाजरकोट भूकम्पबाट २६ हजार ५२० घर पूर्ण ध्वस्त, ३५ हजार ३९१ घरमा आंशिक क्षति

Banner

काठमाडौं, कात्तिक २२-

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पले क्षति गरेको घरको संख्या ६१ हजार ९११ पुगेको छ ।

गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार यो विवरण बुधबार दिउँसो १ बजेसम्मको हो ।

विवरण आउने क्रम जारी रहेकोले क्षति भएका घरको संख्या अझ बढ्ने जनाइएको छ । शाखाका अनुसार जाजरकोट भूकम्पले २६ हजार ५२० घरमा आंशिक क्षति गरेको छ भने २६ हजार ५२० घरमा पूर्ण क्षति गरेको शाखाले जनाएको छ ।

भूकम्पले जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालिकोट, प्युठान र अछाम गरी १३ जिल्लामा असर गरेको थियो ।

शाखाका अनुसार भूकम्पले सबैभन्दा ठूलो जनधनको क्षति जाजरकोट र रुकुम पश्चिममा गरेको छ ।

जाजरकाटेमा २४ हजार ७०७ घरमा आंशिक र ९ हजार ७९४ घरमा पूर्ण क्षति गरेको छ । रुकुम पश्चिमका ९ हजार ९६१ घरमा आंशिक र १६ हजार ५७० घरमा पूर्ण क्षति गरेको छ ।

शाखाले उपलब्ध गरेको विवरणअनुसार रुकुम पूर्वमा १८२ घरमा आंशिक र दुई घरमा पूर्ण क्षति, सल्यानमा ४१८ घरमा आंशिक र १२९ घरमा पूर्ण, रोल्पामा ८३ घरमा आंशिक र १७ घरमा पूर्ण क्षति गरेको छ ।

यस्तै, नवलपरासी पूर्वको एक, दैलेखको एक, दाङको सात र प्युठानको ३१ घरमा भूकम्पले आंशिक क्षति गरेको छ । दैलेखको एक, बैतडीको एक, जुम्लाको पाँच र कालिकोटको एक घरमा पूर्ण क्षति गरेको छ ।

भूकम्पले संरचना भत्किदा १५३ जनाको मृत्यु र ३६४ जना घाइते भएका थिए । भूकम्पका कारण विभिन्न जिल्लामा १४ वटा सरकारी भवन भत्केको शाखाले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>