Uncategorized

पुतली अध्ययनमा जीवन बिताउने ‘पुतली बाजे’

Banner

कास्की, कात्तिक २०-
नेपालमा पुतलीको अध्ययनमा आफ्नो जीवन समर्पित गर्नुभएका कोलिन फिलिप स्मिथ ‘पुतली बाजे’को आज अन्तिम बिदाइ गरिएको छ ।

गत शनिबार बिहान ८७ वर्षको उमेरमा निधन हुनुभएका कोलिनको पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसहित बिदाइ गरेको हो । पुतली बाजेको पार्थिव शरीर पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको ‘बटरफ्लाई म्युजियम’को प्राङ्गणमा राखिएका उहाँलाई अन्तिम श्रद्धासुमनका लागि उहाँका विद्यार्थी तथा सहपाठीको बाक्लो उपस्थिति रहेको थियो । कोलिनको पार्थिव शरीरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले राष्ट्रिय झण्डा ओढाउनुभयो ।

बेलायतबाट सन् १९६६ मा ३० वर्षको उमेरमा नेपाल आउनुभएका उहाँको पूरै जीवन नेपालमा पुतलीको अध्ययन र अनुसन्धानमा व्यतित भएको थियो ।
शिक्षा र प्रकृति संरक्षणमा नेपालमा गरेको योगदानस्वरुप सरकारले उहाँलाई सन् २०१९ मा सम्मानार्थ नागरिकता प्रदान गरेको थियो । कोलिनले नेपालका धेरै जिल्लामा पुगेर छ सयभन्दा बढी प्रजातिका पुतली सङ्कलन गर्नुभएको थियो ।

कोलिनले नेपालमा पुतलीको अध्ययनसहित पोखरा, गोरखा र काठमाडौँमा शिक्षणसमेत गर्नुभयो । महानगरप्रमुख आचार्यले पुतलीको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन उहाँको अतुलनीय योगदान रहेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको डाँडाकाँडा, भिरपाखा र पखेरा पुगेर छ सयभन्दा बढी प्रजातिका पुतली सङ्कलन गरेर ठूलो गुन लगाउनुभएको छ । मानव जीवन र पर्यावरणमा पुतलीको ठूलो भूमिका हुन्छ भनेर उहाँले उजागार गर्नुभयो ।”

आफ्नो व्यक्तिगत जिन्दगी र देशसमेत छाडेर नेपाल र पोखरालाई आफ्नो घर बनाएर पोखरेली भएर मर्न पाऊँ भन्ने उहाँको आकाङ्क्षा अद्वितीय रहेको प्रमुख आचार्यको भनाइ छ । जीवनमा कोलिनले कसैलाई नपिराएको र सबैसँग अपनत्व रहेर बिदा हुुनुभएको उहाँलाई बुझ्ने र जान्नेहरुको भनाइ छ ।

स्व कोलिन गणितको शिक्षक भएर पनि प्रकृतिको संरक्षणमा लाग्नुभएको थियो । उहाँकै अग्रसरतामा पृथ्वीनारायण क्याम्पस परिसरमा पुतली सङग्रहालय स्थापना गरिएको छ । देश तथा विदेशबाट समेत सो सङ्ग्रहालको अध्ययन अवलोकनका लागि प्रकृतिप्रेमीहरु आउने गरेका छन् । सङ्ग्रहालयमा कोलिनले सङ्कलन गर्नुभएका पाँच सय ८७ प्रकारका पुतली राखिएको छ । पृथ्वीनारायण क्याम्पसँग समन्वय गरेर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सङ्ग्रहालय व्यवस्थापन गर्दै आएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा रविन कडरियाले साना पुतलीहरुको संरक्षण गर्नुपर्दछ भन्ने धारणाको विकासमा स्व कोलिनले योगदान गरेको बताउनुभयो । विदेशबाट आएर नेपालको पुतलीको अध्ययन र अनुसन्धानमा उहाँको जीवन व्यतित भएको उहाँले स्मरण गर्नुभयो ।

“कोलिनले प्रकृतिप्रति माया गर्नुभयो । साना पुतलीहरुलाई संरक्षण गर्नुपर्दछ भन्ने धारणा विकास गरेर जानुभएको छ । आफ्नो काममा दत्तचित्त भएर लाग्दा उपलब्धि हुने र राज्यलाई समेत योगदान गर्न सकिन्छ भन्ने शिक्षा हामीले उहाँबाट पाउन सक्छौँ,” कडरियाले भन्नुभयो ।

पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पसप्रमुख जोर्ज जोनले नेपालमा नचिनेका र नजानेका मानिसका लागि कोलिनले जीवन समर्पित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ नेपालमा काम गर्दा केही पनि पाउनुभएन, दिनुमात्र भएको छ । उहाँको समर्पित जीवनबाट हामीले केही सिक्नुपर्दछ ।” कोलिन लामो समयदेखि पोखरा–१८ लामागाउँमा बस्दै आउनुभएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई पोखराको हरियोखर्क अस्पतालमा उपचार गरिएको थियो । कोलिनको श्रद्धाञ्जलीपछि क्रिश्चियन परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>