चितवन विशेष
आगामी वर्षमा फूलले बजार नपाउने होकि भन्दै चिन्तामा चितवनका पुष्प व्यवसायी

निरुता बिक
चितवन, कात्तिक १९-
बजारको मागका आधारमा व्यवसाय नगरी अरुको देखासिकी गर्दै पुष्प व्यवसाय गर्नेको संख्या बढेसँगै चितवनमा आगामी वर्षबाट फूलले बजार नपाउने हो कि भन्ने व्यवसायीलाई चिन्ता छ ।
सयपत्री फूलखेती गरेका रत्ननगरका पत्रकार तथा पुष्प व्यवसायी निराजन घिमिरेले आगामी वर्षमा फूलले बजार मूल्य नपाउने चिन्ता व्यक्त गरेका छन् ।
पूर्वीचितवनको रत्तनगर नगरपालिका–१६ पिठुवाका उज्यालो नेपालका सञ्चालक तथा व्यवसायी घिमिरेले पछिल्लो समययता सयपत्री फूल खेती गर्ने व्यवसायीको संख्या बढ्दै गएकोले आगामी वर्षमा फूल खेतीले बजार मूल्य नपाउने होकि भन्दै नारायणी अनलाइनसँग चिन्ता व्यक्त गरेका हुन् ।
उनले वडा नं–१६, पिठुवा भद्रकालीमा पाँचकट्ठा क्षेत्रफलमा फूल र कागतीखेती गरेका छन् । उनले पछिल्लो समययता किसानहरु सयपत्री खेतीतर्फ आर्कर्षित भएको बताए । उनले भने,‘ पछिल्लो समय किसानहरु सयपत्री खेतीतर्फ आर्कर्षित भएका छन् । धेरै किसानले फूलखेती गरेका छन् । मलाई लाग्छ यो एक किसिमको लहर हो । अब आउने वर्षहरुमा फूलखेतीले बजार नपाउने होकि भन्ने चिन्ता लागेको छ । उनले पछिल्लो समयमा बजारको माग भन्दा पनि अरुको देखासिखीमा फूलखेती गर्नेको लर्को लागेको बताए । उनले फूलखेतीको बारेमा अध्ययन गरेर फूलले बजार पाँउछ पाउँदैन भनी मात्र फूलखेती गर्न सबैलाई आग्रह गरेका छन् । उनले आफू पत्रकारसमेत भएकाले फूल, कागतीको सूचना सङ्कलन गर्ने क्रममा आफूलाई पनि कागती र फूल खेती गर्ने इच्छा जागेको सुनाए । उनले १०० वटा कागतीको बिरुवा रोपका छन् ।
उनले भने,‘कागती र फूल खेतीको सूचना सङकलन गर्दै जाँदा मलाई पनि कागतीखेती गर्न मन भयो । कागतीखेती गरेँ । कागती खेती गर्दा बोट ३ देखि ४ मिटरको दूरीमालगाउनु पर्छ । त्यही ३\४ मिटर जमिनको उपयोग गरी सयपत्री फूल लगाए ।’ उनले कागती र फूलखेतीमा धेरै लगानी र मेहनत गर्नु नपर्ने भएकाले कागती र फूलखेतीगर्न सहज भएको सुनाए ।
फूलखेतीमा ३५ हजार रुपैयाँ लगानी गरेको उनले दुई लाख पचास हजार आम्दानी हुने अनुमान गरेका छन् । उनले तिहार लक्षित गरेर फूलखेती गरेको बताए । उनले भने, ‘तिहार लक्षित गरेर फूलखेती गरेको थिए तर अहिले बजारमा फूलको माग राम्रो देख्दा कागती, र फूलखेतीको साथै पत्रकारितालाई पनि सँगै लैजाने सोचमा छु ।’उनले फूलखेती अझैं बढाउँदै जाने बताएका छन् ।
तिहारलाई लक्षित गरी दुई हजार माला तयार हुने गरी फूल उत्पादन गरेको घिमिरेले बताएका छन् । उनले बजारमा अहिले प्रतिमाला १०० र प्रतिकिलो ४०० रूपैयाँसम्ममा बिक्री हुने गरेको बताए ।
व्यवसायी घिमिरेले नेपालमा ठूलो मात्रामा भारतीय फूल भित्रिने बताए । उनले भने,‘नेपालमा ठूलो मात्रामा भारतीय फूल भित्रिन्छ । तर, अहिले पुष्प विकास बोर्डले भारतीय फूल ल्याउन प्रतिबन्धको साथै नगरपालिकाले प्लास्टिकजन्य वस्तुबाट बनेको माला बिक्रीमा रोक लगाएको छ । यसले गर्दा यहाँ उत्पादित फूलले सहजै बजार पाउने आशा गरेको छु ।’
उनले नगरपालिकाले अहिलेसम्म फूलखेतीमा अनुदान नदिएको गुनासोसमेत गरेका छन् । नगरपालिकाले पुष्प व्यवसायमा अनुदान दिए फूलखेतीमा किसानलाई थप प्रोत्साहन मिल्ने बताएका छन् ।
रत्ननगरमा पाँच बिघा क्षेत्रफलमा ५० हजार मालाका लागि पुग्ने फूल उत्पादन गरिएको छ । तीनवटा कृषक समूहसहित एक दर्जन बढी किसानहरुले यसै वर्षदेखि व्यावसायिकरुपमा फूल खेती गरेका छन् । नगरपालिकाले व्यावसायिक फूलखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्लास्टिकजन्य वस्तुबाट बनेको माला बिक्रीमा रोक लगाएको छ ।
























