चितवन विशेष

तिहारको अवसरमा चितवनका कवि प्रकाश चापागाईको पाठकलाई कोशेली ‘ कमिलाको प्वाँख’

Banner

चितवन, कात्तिक १६-

यस वर्षको तिहारमा चितवनका कवि प्रकाश चापागाइँँले नयाँ कविता सङ्ग्रह ‘कविताको प्वाँख’ पाठकसामु ल्याउने भएका छन् ।

कात्तिक २५ गते काग तिहारको दिन पारेर पेज टर्नर प्रालिले प्रकाशन गरेको कृतिलाई सार्वजनिक गर्न लागिएको हो ।

भरतपुर महानगरपालिका–१० का स्थायी बासिन्दा प्रगतिशील एवम् बामपन्थी विचारधाराका छन्द कवि प्रकाश चापागाईंको कमिलाको प्वाँख चापागाईंको छैटौं पुस्तक हो । कमिलाको प्वाँखमा ८० वटा कविता संग्रहित छन् । सामाजिक एवम् राजनीतिक विषयवस्तुमा लेखिएका कविताहरू संग्रहमा राखिएको कवि चापागाईंले बताए । ‘विशेषगरी माओवादी युद्धदेखि अहिलेसम्मका सन्दर्भलाई कवितामार्फत उतार्ने कोसिस गरेको छु’, उनले भने, ‘सामाजिक विकृति विसङ्गति, राष्ट्रप्रेम र राजनीतिका नाउँमा खेलिने फोहोरी खेल प्रतिको खबरदारी र भुइँ मान्छेका आवाजहरू मेरा कविताका स्वरहरू हुन् ।’ उनका कविताले देशमा गणतन्त्र र परिवर्तनको नाममा देखिएको बिसंगत राजनीतिक घटनाक्रममाथि व्यङ्ग्य गरेको छ ।

विद्यार्थीकालदेखि बामपन्थी राजनीतिमा लागेका चापागाईँ निरंकुश पञ्चायती व्यवस्थाको उत्तरार्ध विसं २०४० को दशकदेखि कविता लेखनमा सक्रिय भएका थिए । यसअघि उनको ‘बदला’ एकाङ्की नाटक (२०४०), ‘आँखाभरि’ शोककाव्य (२०६७), ‘बुलेट नम्बर पाँच’ खण्डकाव्य (२०७०) ‘आरोहण’ महाकाव्य संयुक्त लेखन (२०७४) र ‘मगुई’ खण्डकाव्य (२०७७) प्रकाशित भएका छन् ।

चितवनका समालोचक तथा नेपाली भाषाका विज्ञ प्रा. डा धनेश्वर भट्टराईले आफूलाई कविताको शीर्षक मनपरेको सामाजिक सञ्जालमार्फत् बताएका छन् । उनले सबै कविता नपढेको भए पनि केही पढेको भन्दै कमिलाको प्वाँख आउनु अनिष्टको संकत भएको बताए । उनले भने, ‘विनाशतिरको यात्रा हो र समाप्तिको सूचक हो । त्यसो हो भने कवि प्रकाशले कसलाई वा केलाई कमिलाको प्वाँखका रूपमा लिएका छन् त्यही कवि र कविताको मूलभाव वा उद्देश्य या कथ्य रहने निश्चित छ ।’ उनले कवि चापागाईं ध्वनिवादी र व्यङ्ग्यवादी कवि भएको बताए । उनले यस सङ्ग्रहमा नेपाली राष्ट्रिय जीवन, समाज , चरित्र , कर्म , चिन्तन , व्यवहार र तज्जन्य अनेक पक्षका विविध पाटा चहारेर त्यहाँभित्रका राम्रा–नराम्रा कुरालाई कविताका वस्तु बनाएका छन् । राजनीति, विकास, राष्ट्रियता, जनजीविका, प्रजातन्त्र, लोकतन्त्र,गणतन्त्र र समाजवादी यात्राका अनेकन नेतृत्व , तिनका विचलन, पदमोह, सत्तास्वार्थ , दुष्कर्म , लोलुपता र सिद्धान्तहीन सिद्धान्तका कारण देश र जनताले बेहोर्न परिरहेका चिन्ता, चासो र जिज्ञासालाई कवि प्रकाशले विविध कवितामा प्रस्तुति दिएको डा. भट्टराईले बताए । साहित्य संगम चितवनका अध्यक्ष रहेका उनी भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>