Breaking News

भरतपुर भ्रमण वर्षमा तीन लाख पर्यटक भित्र्याउँने गरी महानगरले थाल्यो तयारी

Banner

चितवन, कात्तिक १६-

भरतपुर महानगरपालिकाले भ्रमण वर्ष–२०२४ लाई राष्ट्रिय उत्सवको रुपमा मनाउने तयारी गरेको छ ।

भ्रमण वर्ष नजिँकै गर्दा महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरेर तयारी सुरु भएको जानकारी गराएको हो ।

पुस १५ गते भव्य उद्घाटन गर्ने गरी मुल आयोजक समिति र २९ वटा उपसमिति बनाएर कामलाई तीव्र पारिएको महानगरले जनाएको छ । महानगरपालिका प्रमुख रेनु दाहालको संयोजकत्वमा दुई हजार २४ सदस्य मूल आयोजक समिति र उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा कार्यसम्पादन समिति गठन गरिएको छ ।

तीन लाख पर्यटक भित्र्याउँने गरी हुन लागेको भ्रमण वर्ष सफल बनाउनका लागि छ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । भ्रमण वर्ष सञ्चालन गर्न संघीय र प्रदेश सरकारबाट समेत एक÷एक करोड बजेट आउने महानगरको अपेक्षा छ । एक वर्षमा कम्तीमा तीन लाख पर्यटक महानगरका पर्यटकीय क्षेत्रमा घुम्न आउने गरी तयारी सुरु गरिएको छ । भरतपुर, सौराहा, नवलपुर क्षेत्रमा गरी एक दिनमा साढे १५ हजार पर्यटक अट्ने होटल रहेको छन् । भरतपुर महानगरपालिका भित्र ७ हजारको पर्यटक अट्ने क्षमता रहेको महानगरपालिकाको दाबी छ ।

भ्रमण वर्ष सुरु हुन अब झण्डै दुई महिनाको समय छ नगर उपप्रमुख एवम् कार्य सम्पादन समितिका संयोजक अधिकारीले भने, ‘यो अवधि महानगरको लागि सुनौलो र इतिहास रच्ने समय हो ।’
भ्रमण वर्षको सन्दर्भमा बिहिबार महानगरमा आयोजना गरिएको कार्यसम्पादन समिति र उपसमिति संयोजकहरुको संयुक्त बैठकले भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रुपमा मनाउने निर्णय गरेको हो । ‘१५ पुस अर्थात डिसेम्बर ३१ मा भ्रमण वर्षको भव्य उद्घाटन गरिनेछ’, नगर उपप्रमुखले भने ‘भ्रमण वर्षका लागि महानगरपालिकाले छ करोड रुपैयाँ बिनियोजन गरी काम गरिरहेको छ । महानगरपालिकाले २९ वटा वडामा ३१ वटा पर्यटकीय गन्तव्यहरुको पहिचान गरेर भ्रमण वर्ष मनाउन लागेको छ ।’

कार्यसम्पादन समितिका सहसयोजक दिनेशकुमार चुकेले भ्रमण वर्ष महानगरको लागि मात्रै नभइ निजी क्षेत्रको लागि पनि उत्तिकै फलदायी रहने टिप्पणी गरे । ‘यो भ्रमण वर्षलाई सबैले अपन्त्व हुने गरि जिम्मेवारी लिन आवश्यक छ’ चुकेले भने ।

महानगरपालिकाले भ्रमण वर्ष २०२४ को लागि चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी, देवघाटधाम, क्रुजशिप, दियालो बंगला लगायतका स्थानहरुलाई प्रमुख पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरेको छ ।

महानगरपालिकाले भ्रमण वर्षमा फुड फेस्टिबल,अन्तर्राष्ट्रिय जंगल सफारी, हात्ती पोलो, राजदूत सम्मेलन, मन्त्रीपरिषद् बैठक, अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनलाई मुख्य प्राथमिकतामा राखेको छ । त्यस्तै गरी जलयात्रा, अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी, अन्तर्राष्ट्रिय फर्मा एक्स्पो, अन्तर्राष्ट्रिय एग्रोभेट प्रदर्शनी, अन्तर्राष्ट्रिय मेडिकल मेसिन एक्स्पो, नाडा एक्स्पो, बोटे माझी डुंगा प्रतियोगिता समेत गर्ने भएको छ ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>