Breaking News

पूर्वराजा ज्ञानेन्द्रलाई संसदबाट माधव नेपालको चेतावनीः अँध्यारो युगमा फर्काउने नसोच्नुस्

Banner

काठमाडौं, कात्तिक १६-

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई व्यवस्थाप्रति प्रश्न नउठाउन चेतावनी दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले पूर्वराजा ज्ञानेन्द्रको नाम नलिई अँध्यारो युगमा नेपाललाई फर्काउने कुरा नसोच्न चेतावनी दिए । ‘अँध्यारो युगमा नेपाललाई फर्काउने कुरा नसोच्नुस् । कुनै वंशको शासनलाई अगाडि सारेर देशको समस्या समाधान होला भन्ने कल्पना नगरौँ’, उनले भने । प्रधानमन्त्री र मन्त्रीले राम्रो काम गर्न नसकेको भनेर पीडा भएको भए विकल्प दिन नेता नेपालले आग्रह गरे ।

त्यस्तै, नेपालले प्रतिनिधिसभा बैठकमा तीनवटा गीत प्रस्तुत गरेका छन् । बिहीबार संसद्को चालु अधिवेशनको अन्तिम बैठकमा उनले गीतमार्फत देश अफ्ठ्यारो अवस्थामा रहेको बताए ।

२०७६ सालमा संसद्मा उभिएर देशको समस्या र राजनीतिको बारेमा केही कुरा चर्चा गरेको सम्झिए । त्यस्तै, ०७९ को निर्वाचनपछि गठन भएको सरकारको बेलामा आफूले राखेको धारणा पनि स्मरण गरे ।

उनले ‘ह्वाइ नेसन फेल’ पुस्तकको चर्चा गरे । त्यस्तै, मनमोहन अधिकारीसहितको टिमले बनाएको भिजन नेपाल नामक पुस्तक पनि सम्झिए । उनले पहिलो गीतको रुपमा जेबी टुहुरेको लाहुर हिँड्नेको ताँतीले…गीत गाए । ‘लाहुर हिँड्नेको ताँतीमा बस्नेको मन रुहाँउछ । लाखौँको लागि उजाड छ यो देश । मुठ्ठीभरका लागि स्वर्ग छ’ नेपालले गीत सुनाए ।

उनले विमानस्थलमा विदेश जानेहरुको ताँतीले मन पोल्ने बताए । उनले देशको अवस्था हेर्ने हो भने विमानस्थलमा गएर विदेश जानेहरुको ताँती हेरे पर्याप्त हुने बताए ।
त्यस्तै, तेस्रो गीतका रुपमा शिशिर योगीको गीत गुनगुनाए, ‘छाडेर काम सारा, एक काम रोजिरहेको छु, यो देशमा म एउटा मानिस खोजी रहेको छु ।’

उनले आफूलाई भूपी शेरचनको गीतले उत्साहित बनाउने बताए । ‘भूपी शेरचनको गीतले उत्साहित बनाउँछ । यो नेपाली शीर उचाली संसारमा लम्किन्छ, जुनकिरीझैँ ज्योति बाली अन्धकारमा चम्किन्छ । त्यसो हुनाले निराश हुन जरुरी छैन’, उनले भने । नेपालले चुनौतीको सामना गरेर विजयी भएकाले निराश हुनुनपर्ने बताए । केही भएन भन्ने निराशावादी भाष्य सुनिन थालिएको पनि उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>