समाज

अध्ययनले भन्छ: चिया, कफीले शरीर बलियो हुने !

Banner

काठमाडौं, कात्तिक १६-

चिसो सुरु हुँदै छ, चिया वा कफीको मात्रा धेरै जनाले बढाउन थालिसक्नु भयो होला । तपाई दिनमा कति कप चिया वा कफी पिउनु हुन्छ? हालै भएको एउटा अनुसन्धानले भने दिनहुँ एक कप चिया वा कफीको सेवनले बुढ्यौलीमा शरीरलाई बलियो राख्न सक्ने देखाएको छ ।

मीड लाइफ अर्थात् ४० देखि ६० वर्षबिचको उमेरमा कसैले चिया वा कफी दिनहुँ खान्छ भने जीवनको अन्तिम वर्षहरूमा शरीर कमजोर हुने सम्भावना कम हुन्छ । यसको मुख्य कारण चाहिँ चिया–कफीमा हुने क्याफिन भएको बताइएको छ । दिनमा चार कप कफी पिउने मानिसहरूलाई सबै भन्दा धेरै फाइदा भएको पाइयो । कालो चिया वा ग्रिन टी पिउने मानिसहरूमा पनि यसको असर राम्रो भेटियो ।

.रिसर्चले के भन्छ

नेशनल युनिभर्सिटी अफ सिंगापुरकोे टिमले ४५ देखि ७५ वर्ष उमेरका १२ हजार मानिसलाई २० वर्षसम्म फलो अप गरेको थियो । ‘सिंगापुरसहित विश्वका कयौँ क्षेत्रमा कफी र चिया मुख्य पेय पदार्थ हो । हाम्रो अनुसन्धानबाट के पत्ता लागेको छ भने अधबैँसे उमेरमा यसको सेवनले जीवनको आखिरी वर्षहरूमा शारीरिक कमजोरीको सम्भावना कम हुन सक्छ,’ अध्ययनमा सहभागी युनिभर्सिटीका योग लु लिन स्कुल अफ मेडिसिनमा हेल्दी लङ्गभिटी ट्रान्सलेशन रिसर्च प्रोग्रामका प्रोफेसर कोह वुन पुएले भने ।

तर यी निष्कर्षलाई पुष्टि गर्न र शारीरिक कमजोरीमा यी प्रभाव क्याफिन वा अन्य रासायनिक तत्त्वका कारण भएको हो भन्न जाँच्न थप अनुसन्धान हुनु पर्ने पुए बताउँछन् । यो सोधमा ५३ वर्ष औसत उमेर भएकाहरूसँगको कुराकानीमा क्याफिनयुक्त पेय कफी, चिया, चिसो पेय र चकलेट आदि चिज खानेपिउने बानीबारे सोधिएको थियो । ७३ वर्ष औसत उमेर भएकाहरूलाई भने तौल, ऊर्जाको स्तरबारे सोधपुछ गरिएको थियो । ती मानिसहरूमा ताकत पत्ता लगाउन हैंडग्रिप पावर र टाइम अप एन्ड गो परीक्षण गरिएको थियो ।

१२ हजारमध्ये ६८ दशमलव ५ प्रतिशत मानिस हरेक दिन कफी पिउँथे । यो समूहमा ५२ दशमलव ९ प्रतिशत मानिस दिनमा एक कप कफी र ४२ दशमलव २ प्रतिशत मानिस दुई वा तीन कफी पिउँथे । बाँकी मानिस भने दैनिक चार वा सो भन्दा बढी कप समेत कफी खान्थे । चिया खानेहरूलाई पनि बानी अनुसार ४ श्रेणीमा विभाजित गरिएको थियोस् कहिले नखाने, महिनामा कम्तीमा एक पटक खाने, हप्तामा एक पटक र दिनका दिन पिउने ।

अधबैँसे उमेरमा कफी, चिया वा ग्रिन टी पिउन थालेपछि ती मानिसको शारीरिक कमजोरीको सम्भावना निकै कम भएको पाइयो । दिनहुँ कफी नखानेको तुलनामा दिनमा चार कप वा सो भन्दा बढी चिया कफी पिउनेमा शारीरिक रूपमा कमजोर हुने सम्भावना निकै कम भेटियो । हरेक दिन कालो चिया वा ग्रिन टी खानेहरूमा पनि खाँदै नखानेको भन्दा शारीरिक कमजोरीको सम्भावना निकै कम थियो । यो अध्ययनको निष्कर्ष अमेरिकन मेडिकल डाइरेक्टर एशोसियशनको जर्नलमा प्रकाशित भइसकेको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>