नवलपरासी

गैँडाकोट नगर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

Banner

नवलपुर, कात्तिक १६-

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–११ भेडाबारीस्थित गैँडाकोट नगर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नगर अस्पतालमा सञ्चालनमा आएको आँखा उपचार केन्द्र नेपाल नेत्रज्योति सङ्घ, हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान ९भरतपुर आँखा अस्पताल० चितवन र गैँडाकोट नगरपालिकाद्वारा सञ्चालन गरिएको हो ।

भरतपुर आँखा अस्पतालका अध्यक्ष जयराम श्रेष्ठले आँखा अस्पतालले भरतपुरमा अत्याधुनिक शल्यचिकित्सा भवन निर्माण गर्न लागिएको जानकारी दिनुभयो । भरतपुर आँखा अस्पतालका निवर्तमान अध्यक्ष कृष्णराज धरेलले उपचारकै कारण कसैले आँखाको ज्योति गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ सेवा थालिएको बताउनुभयो । बुधबार नै सुरु गरिएको निःशुल्क आँखा शिविरमा दुई सय १९ जनाले आँखा जाँच गराएका छन् । शिविरमा १४ जनामा मोतिविन्दु, सात जनाको आँखामा मासु पलाएको, १९ जनामा आँखा चिलाउने, आँसु आउने समस्या र १९ जनामा चस्मा लगाउनुपर्ने समस्या भेटिएको भरतपुर आँखा अस्पतालका नेत्र सहायक सुवास सापकोटाले जानकारी दिनुभयो ।

यसैबीच अस्पतालको भीमराज उषामाया पाठक आँखा बैंक नानी सङ्कलन केन्द्रमा एक हजार दुई सय ९२ जनाले आँखा दान गर्ने इच्छा पत्र पेश गरेका छन् । हालसम्म २५ जनाले आँखाको नानी दान गरेका छन् । हालसम्म अस्पतालबाट एक सय ३१ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको आँखा बैंकका संयोजक छाँया श्रेष्ठले जानकारी दिनुभयो । विसं २०७४ मा स्थापना भएको बैंकले पहिलो पटक २०७५ सालमा गैँडाकोट–२ मा ८४ वर्षीय कलाधर गौतमको आँखाको नानी सङ्कलन गरेको थियो ।

गैँडाकोट नगरपालिका र भरतपुर आँखा अस्पतालबीच भएको सम्झौताअनुरुप आँखा उपचार केन्द्र सञ्चालनका लागि नगरपालिकाले आवश्यक भवन निःशुल्क उपलब्ध गराएको छ । केन्द्र स्थापनाका लागि आर्थिक वर्ष २०८०/८१ देखि निरन्तर वार्षिकरुपमा पाँच वर्षसम्म नगरपालिकाले रु छ लाख भरतपुर आँखा अस्पताललाई उपलब्ध गराउने छ । तर, दैनिक २५ जनाको अनुपातमा बिरामी उपचार केन्द्रमा परीक्षणको लागि दर्ता भई परीक्षण गराएमा नगरले वार्षिकरुपमा प्रदान गर्ने रकम प्रदान गर्नुनपर्ने गरी सम्झौता भएको छ ।

नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल चितवनले आँखा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने औजार उपकरण, औषधि, चस्मा, लेन्स तथा स्टेसनरीको सामान उपलब्ध गराउने छ । आँखा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन तथा सेवा सुविधा नेपाल नेत्रज्योति सङ्घको नियमानुसार उपलब्ध गराउने एवं औजार उपकरणको मर्मतसम्भार तथा अन्य व्यवस्थापकीय कार्य भरतपुर आँखा अस्पतालले गर्नेछ । सम्झौताअनुसार आवश्यकताअनुसार स्रोत साधन जुटाई कम्तीमा वर्षमा एक पटक निःशुल्क शल्यक्रियसहितको आँखा शिविर सञ्चालन गर्नेछ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>