Breaking News

कालिका नगरपालिकाले ११ करोड बढी लगानी गरेको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा

Banner

निरुता बि.क

चितवन, कात्तिक १५

भाडाको घरमा बस्दै आएको चितवनको कालिका नगरपालिका आफ्नै प्रशासकीय भवनमा सर्दै छ ।

आठ वर्षदेखि भाडाको घरमा बस्दै आएको नगरपालिका कालिका–६ रेडक्रस ग्रामको चौरमा बन्दै गरेको आफ्नै भवनमा अबको तीन महिनामा सर्ने तयारी गरेको हो ।

चितवनको पूर्वी उत्तर भागमा अवस्थित यस नगरपालिका विस २०७२ असोजमा स्थापना भएदेखि भाडाको घरमा बस्दै आएको थियो । नगरपालिकाका मेयर विनोद रेग्मीका अनुसार आर्थिक वर्ष २०७६\७७ मा शिलान्यास गरी भवन निर्माण सुरु गरिएको थियो । ११ करोड ३० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको भवन करिब सम्पन्न हुन लागेको मेयर रेग्मीले जानकारी दिए । उनले भने, ‘ अहिले मासिक करिब एक लाख रूपैयाँ बुझाउने गरी कालिका ६ कमलचोकको घरमा नगरपालिकाको कार्यालय चलाइरहेका छौँ । तर, अब भने नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन पाउने भएको छ ।’
भवन बनेपछि भाडाको घरमा बस्नुपर्ने बाध्यताको अन्त्य हुन लागेको मेयर रेग्मीले बताए । भवन निर्माण अन्तिम चरणमा रहेको उनले बताए । अबको तीन महिनामा काम सकिने गरी काम भइरहेको भवन दुई वर्षमा निर्माण कार्य सकिने योजना भएता पनि ठेकेदार र कोभिडका कारण ढिलाई भएको रेग्मीले बताएका छन् ।

मेयर रेग्मीका अनुसार नगरबासीलाई आवत जावतमा सहजको लागि केन्द्र पर्ने गरी रेडक्रसग्रामको चौरमा सर्वदलीय सहमतिअनुसार भवन बनाउन सुरुवात गरिएको हो । उनले भने, ‘नयाँ भवनमा सरे लगतै भाडाको बोज कम हुने थियो । विभिन्न शाखाको अन्यन्त्र ठाउँबाट सेवा दिइरहेको थियो भने अब एकै ठाउँबाट सेवा दिन सकिने छ ।’
उनले नगरपालिकाले दिने सबै खाले सेवा अब एकै ठाउँबाट दिन सकिने बताए । भाडामा बसेको घरमा व्यक्तिगत रुपमा भेटघाट गरेर गुनासो गर्न नपाईने, कर्मचारी सेवाग्राहीलाई बस्न स्थानको अभाव हुने मेयर रेग्मीले सुनाए ।

नगरपालिकाका इन्जिनियर तथा पूर्वाधार विकास शाखाका प्रमुख राजेश कोइरालाले भवन निर्माण कार्य करिब सम्पन्न हुन लागेको बताए । उनले नगरपालिकाको आफ्नै स्रोत र जिल्ला समन्वय समितिबाट आएको अनुदान रकमबाट भवन निर्माण गरिएको बताए ।

करिब एक बिघा १० कठ्ठा क्षेत्रफलमा बनेको भवनमा ५ तला रहेको छ । स्थानीय सरकारको अवधारण अनुसार शाखालाई विभाजन गरी भवन बनेको छ । भवनको बनावट पूर्णरुपमा आरसीसी गरिएको हो । इञ्जिनियर कोइरालाले अबको तीन महिनामा भवन निर्माण सम्पन्न हुने बताए । उनले भवनको बनावट पूर्णरुपमा निर्माण भइसकेको तर टायल, मार्वल, रङग रोगन, झ्याल ढोका राख्ने काम भइरहेको जानकारी दिए । अबको केही दिन भित्र यी सब काम सम्पन्न हुने इन्जिनियर कोइरालाले प्रतिबद्धता जनाए ।


नगरपालिका कार्यालयमा अहिले ७७ जना कर्मचारी कार्यरत छन् । भौगोलिक हिसाबले समथर तथा केही भूभाग पहाडी क्षेत्र रहेको यस नगरपालिका सडक यातायातको पहुँचबाट नजिक रहेको छ । तल्लो भूभाग (समथर) को हरेक टोल टोलमा १२ महिना चल्न सक्ने सडक पुगेको छ । जसमा कालोपत्रे भएका सडक झण्डै ४० प्रतिशत छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>