चितवन विशेष

चितवनको नारायणी नदी किनारमा मंसिर ६ गतेदेखि कृषि तथा व्यापार महोत्सव गरिने

Banner

चितवन, कात्तिक १४-

चितवनको नारायणी नदी किनारमा चितवन रिकभरी जनचेतना, संस्कृति, पर्यटन, कृषि तथा व्यापार महोत्सव हुने भएको छ ।

लागूऔषध तथा मद्यपान प्रयोगकर्ताहरुको उपचार तथा पुनस्थापनाका लागि स्थापित संस्था रिकभरिङ युनाइटेड प्रालिले यही मंसिर ६ गतेदेखि १६ गतेसम्म नागरिकलाई सचेतना दिन महोत्सव गर्न लागेको हो ।

आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक महेश श्रेष्ठले भरतपुर महानगरपालिका वडा नम्बर १ को सिफारिस र भरतपुर महानगरपालिका र जिल्ला प्रशासनको स्वीकृतिमा महोत्सव गर्न लागेको जानकारी दिए । लागूऔषध तथा दुव्र्यसनी विरुद्ध जनचेतनामूलक कार्यक्रम गर्दै चितवनको मौलिक परम्परा, भेषभुषा र स्थानीय कला तथा संस्कृति संरक्षण गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको उनले जानकारी दिएका छन् । १० दिनसम्म चल्ने महोत्सव बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहने जनाइएको छ ।

महोत्सवमा स्कुल तथा क्याम्पसका विद्यार्थीलाई लागुऔषधविरुद्धको विभिन्न नाटक, कविता, साहित्य, वादविवाद, गीतसंगीत तथा नृत्य प्रतियोगिता गराइने छ । त्यस्तै, चितवनका स्थानीय कलाकारहरुको प्रस्तुति रहनुको साथै राष्ट्रिय कलाकारहरु र मोटिभेसनल स्पिकरहरुद्वारा लागूऔषधविरुद्धको जनचेतनामूलक कार्यक्रम गरिने आयोजकले जनाएको छ । विभिन्न कार्यक्रमहरुलाई औद्योगिक शान्ति नेपाल संस्थाले सहयोग गर्नृेछ ।

महोत्सवमा रोटेपिङ, नाउँ, झुला, ड्रागन, कार तथा मोटरसाइकल रेस र सर्कसहरु मनोरञ्जनको लागि राखिने छ भने औद्योगिक उत्पादनहरु, खाद्यान्नहरु र हस्तकलाका सामानहरुको स्टल राखिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । दैनिक पाँच हजार नागरिकले अवलोकन गर्ने अपेक्षा राखिएको महोत्सवमा प्रवेश शुल्क ७० रुपैयाँ राखिएको छ । ५ वर्ष मुनिका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ््गता भएका नागरिकलाई महोत्सव प्रवेश निःशुल्क गरिएको छ । २०० देखि २५० स्टल रहने महोत्सवमा ५७ लाख रुपैयाँ खर्च हुने अपेक्षा गरिएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>