चितवन विशेष
भरतपुर–२२ का वडाबासीले पाउने भए निःशुल्क रगत, रेडक्रससंग वडा अध्यक्षले महतोले गरे सम्झौता

चितवन, कात्तिक १३–
चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता गरेपछि वडाबासीले निःशुल्क रगत पाउने सुनिश्चित भएको हो ।
निःशुल्क रगतको लागि एक औपचारिक कार्यक्रमकाबीच वडा अध्यक्ष विष्णुराज महतो र सचिव रामकृष्ण पाण्डे, रेडक्रस जिल्ला शाखाका तर्फबाट सभापति हरिप्रसाद पौडेल, मन्त्री राममणी खनाल र प्रादेशिक रक्तसञ्चार केन्द्रका वरिष्ठ अधिकृत रमेशकान्त पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार रक्तसन्चार केन्द्रले भरतपुर–२२ का वडावासीलाई निःशुल्क रगत उपलब्ध गराउने छ भने वडा कार्यालयले त्यसको भुक्तानी मासिक रूपमा उपलब्ध गराउने छ । सम्झौता अनुसार उक्त योजनाको अवधि ३ वर्षको हुने उल्लेख छ भने प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ । साथै सम्झौता पत्रमा बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयबाट प्रती युनिट १,३६० हुने उल्लेख समेत गरिएको छ ।
पालिकास्तरमा जिल्लाका अन्यत्र केही पालिकाले यो अभियानको सुरुवात गरेको भएपनि वडास्तरमा भरतपुर महानगरपालिका र चितवन जिल्लाकै पहिलो वडा भरतपुर–२२ भएकोमा नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा चितवनका कार्यसमिति सदस्य कुमारप्रसाद थपालियाले वडा कार्यालयलाई धन्यवाद व्यक्त गरेका थिए । उक्त कार्यक्रममा वडाका जनप्रतिनिधिहरु सुर्य बहादुर गुरुङ, दिपक पौडेल, जिल्लाका रेडक्रसकर्मी लगाएत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
























