क्रिकेट

विश्वकप २०२३ः न्युजिल्याण्ड अष्ट्रेलियासँग पाँच रनले पराजित

Banner

काठमाण्डौँ, कात्तिक ११-
न्युजिल्यान्ड सानदार ब्याटिङ प्रदर्शनका बाबजुद आइसिसी विश्वकप २०२३ मा अष्ट्रेलियासँग पाँच रनले पराजित भएको छ । युवा ब्याटर रचिन रविन्द्रको सानदार शतकका बाबजुद न्युजिल्यान्डले जारी विश्वकपमा दोस्रो हार व्यहोरेको छ ।

जितको लागि ३ सय ८९ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८३ रन बनायो । न्युजिल्यान्डका रचिन रविन्द्रले ८९ बलमा ९ चौका र ५ छक्कासहित १ सय १६ रनको शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । जारी विश्वकप र उनको करिअरको यो दोस्रो शतक हो । इंग्ल्यान्डविरुद्ध पहिलो खेलमा रचिनले १ सय २३ रन बनाएका थिए ।

न्युजिल्यान्डलाई जितको लागि अन्तिम ६ बलमा १९ रन चाहिँएको थियो । मिचेल स्टार्कले पहिलो बल ट्रेन्ट बोल्टलाई एक रन दिए । दोस्रो बल लेग वाइको रुपमा वाइड हुँदै चौका गएपछि पाँच बलमा जितको लागि १३ रन चाहिँएको थियो । दोस्रो बलमा दुई रन बटुले । चार बलमा ११ रन चाहिँएको थियो । तेस्रो र चौथो बलमा निसमले दुई दुई रन बटुले । दुई बलमा ७ रन चाहिँएको थियो । पाँचौं बलमा दुई रन लिनेक्रममा निसम रन आउट भएपछि खेल थप रोचक बनेको थियो । अन्तिम बलमा जितको लागि ६ रन चाहिँएको थियो । लोकी फर्गुसनलाई डट राख्दै अष्ट्रेलिया पाँच रनको रोमान्चक जित हात पार्यो ।

निशमले ३९ बलमा ३ चौका र ३ छक्कासहित ५८ रन बनाउँदै खेल रोमान्चक बनाएका थिए । ओपनर डेभन कन्वे १७ बलमा ६ चौकासहित २८ रनमा मिचेल स्टार्कबाट क्याच आउट भए । तीव्र गतिका बलर जोश हेजलवुडको बलमा फाइनल लेगमा उनी क्याच आउट भएका थिए । विल योंग ३७ बलमा ४ चौका र १ छक्कासहित ३२ रनमा स्टार्कबाटै क्याच आउट भए । हेजलवुडकै बलमा कट खेल्ने धुनमा उनी फस्ट स्लिपमा क्याच आउट भएका थिए । त्यो समय न्युजिल्यान्ड ९।४ ओभरमा ७२(२ को अवस्थामा थियो । तेस्रो विकेटका लागि डर्याल मिचेल र रविन्द्रले ९६ रनको साझेदारी गर्दै जितको आशा देखाएका थिए ।

तर स्पिनर एडम जाम्पाको २४ औं ओभरको अन्तिम बलमा मिचेल स्टार्कबाटै क्याच आउट भए । डर्याल मिचेलले ५१ बलमा ६ चौका र १ छक्कासहित ५४ रन बनाए । टम लाथम २१ र ग्लेन फिलिप्स १२ रनमा आउट भएपछि जित केहि कठिन बनेको थियो । तर एक एन्डबाट रचिनले जितको आशा जगाई राखेका थिए । प्याट कमिन्सको ४१ औं ओभरको दोस्रो बलमा ठूलो सर्ट खेलको रचिन लङअफमा मार्नस लाबुसेनबाट क्याच आउट भएपछि जितको सम्भावना निकै कठिन बनेको थियो ।  अष्ट्रेलिया स्पिनर एडम जाम्पाले १० ओभरमा ७३ रन खर्चेर ३ विकेट लिए । प्याट कमिन्सले १० ओभरमा ६६ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुडले ९ ओभरमा ७० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९.२ ओभरमा ३ सय ८८ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया जितमा चोटपछि टोलीमा फर्किदै पहिलो खेल खेलेका ट्रविस हेडले ६७ बलमा १० चौका र ७ छक्कासहित सर्वाधिक १ सय ९ रनको सानदार शतकीय इनिङ खेले । हेडले ५९ बलमै शतक पूरा गरेका हुन् । विश्वकपको आफ्नो पहिलो खेलमै उनले शतक हानेका हुन् ।

अष्ट्रेलियालाई ओपनर हेड र डेविड वार्नरले १९।१ ओभरमा १ सय ७५ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । वार्नर ६५ बलमा ५ चौका र ६ छक्कासहित ८१ रनमा ग्लेन फिलिप्सको बलमा कट एण्ड बोल्ड आउट भए । यसअघि पाकिस्तानसँग १ सय ६३ र नेदरल्यान्ड्ससँग १ सय ४ रन बनाएका वार्नर शतकमा ह्याट्रिक हान्न चुकेका थिए ।

सुरुवाती १० ओभरमा यी दुई ओपनरले १ सय १८ रन बनाएका थिए । एक समय चार सय रन सजिलै कटाउने सम्भावना देखाएपनि मध्यक्रममा लगातार विकेट गुमाउँदा त्यो सफलता हात पार्न सकेन । मिचेल सान्टनारले मिचेल मार्शलाई ३६ रनमा बोल्ड आउट गरे । ५१ बल खेलेका मार्शले २ चौका हानेका थिए । फिलप्सको बलमा स्टिभ स्मिथ १८ रनमा क्याच आउट भए ।
सातौं विकेटका लागि जोश इंग्लिस र प्याट कमिन्सले २२ बलमा ६२ विष्फोटक साझेदारी गरेका थिए । इंग्लिस २८ बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा क्याच आउट भए । प्याट कमिन्स १४ बलमा २ चौका र ४ छक्कासहित ३७ रनमा एलबीडब्लू आउट भए । ट्रेन्ट बोल्टले ४९ औं ओभरको सुरुवाती तीन बलमा कमिन्स र इंग्लिसलाई आउट गरेका थिए ।

ग्लेन म्याक्सवेल २४ बलमा ५ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । मार्नस लाबुसेन १८ र मिचेल स्टार्क १ रनमा आउट भए । न्युजिल्यान्डका ग्लेन फिलिप्सले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । मिचेल सान्टनारले १० ओभरमा ८० रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले १० ओभरमा ७७ रन खर्चेर ३ विकेट लिए । जेम्श निसम र म्याट हेनरीले समान एक विकेट लिए । यो जितसँगै अष्ट्रेलिया ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ । न्युजिल्यान्ड ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंक भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा छ । अष्ट्रेलियाले अव इंग्ल्यान्ड, अफगानिस्तान र बंगलादेशसँग खेल्न बाँकी छ । तीन मध्य दुई खेल जित निकाले अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ ।

उता न्युजिल्यान्डले दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलंकासँग खेल्न बाँकी छ । न्युजिल्यान्डलाई पनि तीन मध्य दुई खेलमा जित आवश्यक पर्दछ । दक्षिण अफ्रिका ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ शीर्षस्थानमा छ । भारत ५ खेलमा १० अंकका साथ दोस्रो स्थानमा छ । श्रीलंका ५ खेलमा ४ अंकका साथ पाँचौं स्थानमा छ । पाकिस्तान ६ खेलमा ४ अंकका साथ छैटौं स्थानमा छ । इंग्ल्यान्ड ५ खेलमा २ अंकका साथ नवौं स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>