समाचार

नेपालले भारतसंग ९५ हजार टन चामल खरिद गर्ने

Banner

काठमाण्डौँ, कात्तिक ०१-
भारतले नेपालसहित सात देशलाई तोकिएको परिमाणमै गैरबासमती चामल निर्यातको अनुमति दिएको छ । गत जुलाई–२० बाट भारतले गैर बासमती चामलको निर्यातमा रोक लगाएको थियो । भारतको विदेश व्यापार महानिर्देशनालयले बुधबार जारी गरेको सूचना अनुसार नेपाललाई ९५ हजार टन चामल निर्यात गरिने छ । नेपाल सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध खुकुलो बनाउन आग्रह गर्दै आएको थियो ।

दिल्लीस्थित नेपाली दूतावास मार्फत नेपालले भारत सरकारसँग एक लाख टन गैरबासमती चामलको माग गरेको थियो । प्रतिबन्ध लगाइएको तीन महिनापछि भारतले नेपालका लागि निर्यातको कोटा तोकेको हो । बुधबार जारी गरिएको सूचना अनुसार सात देशलाई कुल १० लाख ३४ हजार ८ सय टन चामल निर्यातको कोटा दिइएको छ ।

पछिल्लो पटक चामल निर्यातको अनुमति पाउनेमा नेपाल, कैमरून, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेसल्स छ । फिलिपिन्सले सबैभन्दा बढी २ लाख ९५ हजार, कैमरूनले १ लाख ९० हजार, मलेसियाले १ लाख ७० हजार, कोटे डी आइभोर र गिनीले १ लाख ४२ हजार टन चामल भारतबाट पाउने छन् । सबैभन्दा कम सेसल्सलाई ८ सय टन दिइएको छ । तोकिएको कोटाको चामल भारतको राष्ट्रिय सहकारी निर्यात लिमिटेड मार्फत निर्यात गरिने विज्ञप्तिमा उल्लेख छ । सम्बन्धित देशहरुको खाद्य सुरक्षा र आवश्यकतालाई हेरेर निर्यात खुलाइएको जनाइएको छ ।

यसअघि भारतले यूएई, सिंगापुर, भुटान, मरिसस, सेनेगल, गाम्बिया, इन्डोनेसिया, माली लगायतका देशलाई पनि कोटा तोकेर निर्यातको अनुमति दिइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>