चितवन विशेष

दसैँको अवसरमा अब्बल कवि भूपिनको जुम्ली कविता सङ्ग्रह बजारमा

Banner

चितवन, कात्तिक १-

बाग्लुङमा जन्मिएर चितवनलाई कर्मथलो बनाउँदै आएका अब्बल कवि भूपिन खड्काको जुम्ली कविता संग्रह ‘भूपिनका कविता’ बजारमा आएको छ ।

तीन दशक बढी समयदेखि कविता लेखनमा सक्रिय भूपिनको उत्कृष्ट कविताहरुलाई छानेर बुक हिल प्रकाशन गृहले ‘भूपिनका कविता’ दसैँको अवसरमा बजारमा ल्याएको हो । उनको दुई कविता सङ्ग्रह ‘हजार वर्षको निद्रा’ र ‘सुप्लाको हवाइजहाज’ बाट पाठकहरुले अत्यधिक रुचाएका ६० वटा कविता समावेश गरेर नयाँ सङ्ग्रह प्रकाशन गरिएकोले यसलाई जुम्ली कविता सङ्ग्रह भनिएको छ । कवि भूपिन खड्काले पाठकको मागलाई ध्यानमा राखेर दुवै सङ्ग्रहबाट ३०\३० कविता राखेर जुम्ली कविता सङ्ग्रह प्रकाशन गरिएको नारायणी अनलाइनलाई जानकारी दिए ।

बुकहिल प्रकाशन गृहका अध्यक्ष भूपेन्द्र खड्काले दसैँको अवसरमा कविता संग्रह बजारमा ल्याइएको जानकारी दिए । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘ कविको देशमा कविता खोज्दै हिँडिरहनुभएको छ भने तपाइँले देब्रे हरमुनि च्यापिरहेको किताब हो भूपिनका कविता ! एउटा नाम र थर हुनु; अझै दाजुभाइ हुनु संयोगमात्र थियो जीवनको । तर, योग बनेर आयो साहित्य । दाजुभाइका सुखदुःखका कथा हाम्रा नितान्त निजी हुन् । तर, भूपिन अब्बल कवि हुन् । कवितामा हजार वर्षको यात्रा गर्न सक्ने उनको क्षमता छ । आख्यानको जादू ’मैदारो’मा देखाइसकेका छन् । यो कविताको प्रेस कपी हात पर्दा म अलि भावुक पनि भएँ र उत्साहित पनि ! भूपिनका कविताको स्वाद चाख्न दशैंको दक्षिणाको ४०० रुपैयाँ जोगाइराख्नुहोला ।’


एक दर्जन बढी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका कवि भूपिनको २०५३ सालमा ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’कविता संग्रह, २०६६ सालमा ‘हजार वर्षको निद्रा’ कविता संग्रह, २०६९ सालमा निबन्ध संग्रह चौबिस रिल, २०७२ सालमा ‘सुप्लाको हवाइजहाज’ कविता संग्रह र २०७५ सालमा मैदारो उपन्यास प्रकाशित भइसकेका छन् । अहिले बजारमा आएको कविता संग्रह ‘भूपिनका कविता’ उनको छैठौं कृति हो । यसै वर्ष उनको निबन्ध सङ्ग्रह ‘चौबिस रिल’ को तेस्रो संस्करण र नयाँ निबन्ध सङ्ग्रह प्रकाशनको तयारीमा कवि भूपिन लागेका छन् ।

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको उपप्राध्यापकसमेत रहेका कवि भूपिनले अमेरिकाबाट नेपाली अन्तर्राष्ट्रिय साहित्य समाज पुरस्कार, उत्तम शान्ति पुरस्कार, अनेसास सर्वाेत्कृष्ट पुस्तक पुरस्कारसहित एक दर्जन बढी पुरस्कार र सम्मान प्राप्त गरेका छन् । संरक्षण कविता आन्दोलनका संस्थापकसमेत रहेका भूपिन अक्षर समूह चितवनका निवर्तमान अध्यक्ष हुन् । अहिले उनले अफ द बिट जेनेरेशन संस्थाको नेतृत्व गरिरहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>