Breaking News

भरतपुरका एक दर्जन मासु पसलमा महानगरको अनुगमन, कतिपय पसल फोहोरले दुर्गन्धित

Banner

चितवन, असोज ३०-

भरतपुर महानगरपालिकाले भरतपुरका मासु पसलमा अनुगमन गरेको छ ।

महानगरपालिकाले आज दसैँलाई लक्षित गरेर भरतपुर र नारायणगढका गरी एक दर्जन मासु पसलमा अनुगमन गरेको हो ।

उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाका अनुसार नारायणगढको लायन्सचोकमा रहेको चितवन मिट हाउस, लक्ष्मी मिट सप, राजकुमार मिटसप लगायतका थुप्रै मासु पसलमा अनुगमन गरिएको छ । त्यस्तै बालकुमारी सब्जी मन्डीमा रहेका दर्जनौं माछा तथा मासु पसलहरुमा पनि महानगरले अनुगमन गरेको छ । अनुगमनमा केही माछा तथा मासु पसलहरुले मापदण्डअनुसार सरसफाइ नगरेको, दर्ता नविकरण नगरेको, सार्वजनिक फोहोर ब्यबस्थापन नगर्दा पसल दुर्गन्धित रहेको पाइएको छ । त्यस्ता पसल तथा ब्यबसायीहरुलाइ सुधार गरेर सञ्चालन गर्न र अबिलम्ब वडामा दर्ता तथा नविकरण गर्न समितिले निर्देशन समेत दिएको छ ।

‘चाडपर्वको मुखमा हामीले बिशेष गरी मासु र दुधलाई बढी प्राथमिकतामा राखेर अनुगमन गरेका हौ’ सापकोटाले भने, ‘यस बाहेकका अन्य क्षेत्रहरुको भने महानगरले पहिल्यै नै अनुगमन गरिसकेको छ । त्यसो त महानगरले चाडपर्वबाहेकका समयमा पनि बजार अनुगमन गर्दै आइरहेको छ भने ब्यवसायी र उपभोक्तालाई पनि सजग र सचेत गराउँदै आइरहेको छ ।’

‘भरतपुर क्षेत्रमा धेरै मानिसका धेरै गुनासाहरु छन् । अनुगमन जाँदा नियमित सेवालाई प्रभाव नपार्ने, सुधार गर्दा हुने त्रुटीलाई सुधारको मौका दिने, सुधारको अवसर दिन नमिल्ने कामलाई तत्काल कानुनी कारबाही गर्ने गरी बजार अनुगमन गरिरहेको महानगरको बजार अनुगमन समितिका सदस्य गोपाल दराइले जानकारी दिए । उनले भने, ‘यी तीन फरक तरिकाबाट अनुगमन गर्दा आम जनताका गुनासाहरु तत्काल समाधान हुन्छन् । अहिले भइरहेका अनुगमनले मापदण्ड पालना गर्ने र नगर्ने को हुन् भन्ने कुरा स्पष्ट रुपमा प्रष्ट पारेको छ ।’

समितिका अर्का सदस्य बिष्णुबहादुर भुजेल महानगरको बजार अनुगमनले उपभोक्ता र ब्यबसायी दुबैलाइ सुध्रिने मौका दिएको बताए । महानगरले अघिल्लो वर्ष देखि नै बजार अनुगमनलाई नयाँ ढंग र नयाँ शैलिमा गर्ने गरेकै कारण उपभोक्ताहरुको गुनासो आउने क्रममा कमी आएको छ । भरतपुर महानगरका पशु चिकित्सक डाक्टर दिपेश केसी उपभोक्ता र ब्यवसायी दुबै सजग र चनाखो रहन आबश्यक रहेको बताए । चाडपर्वको समयमा हुनसक्ने विषादी खाना अर्थात फुड पोइजनलाई ध्यानमा राख्दै सबैले सावधानीपूर्वक स्वच्छ मासु,दूध तथा मासु र दूधबाट बन्ने सम्पूर्ण परिकारहरुमा बिशेष ध्यान पु¥याएर खान आग्रह पनि गरे । भरतपुरका कतिपय मासु पसलले खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने गरेको, खसीलाई तौल बढाउने कपुर खुवाएर बेच्ने गरेको, मरेका, रोगी खसीबोका काट्ने गरेको नागरिकको जनगुनासो रहेको छ । उपभोक्ता सरक्षण ऐन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाई बजार अनुगमन गर्ने अनुमति प्रदान गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>