Breaking News

जनकपुरमा ओलीको स्वागतमा विमानस्थलको धावनमार्गमा समर्थकको भीड, हवाइ सुरक्षाको उल्लंघन

Banner

जनकपुरधाम, असोज २४-

एमाले अध्यक्ष केपी ओलको स्वागतमा विमानस्थलको धावन मार्गसम्म ठूलो संख्यामा नेता तथा कार्यकर्ताको भीड लागेपछि विमानस्थलले सुरक्षा निकायलाई उजुरी गर्ने भएको छ ।

जनकपुरधाम विमानस्थलका प्रमुख भीम दत्त पन्तले विमानस्थलको धावनमार्गमा अनधिकृत व्यक्तिहरु प्रवेश गरेको भन्दै सुरक्षा निकायलाई पत्र लेखिने बताएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा एमाले कार्यकर्ताहरु धावनमार्गमै पुगेका थिए । यति एयर चढेर जनकपुरधाम पुगेका ओलीलाई स्वागत गर्न उनीहरु विमानको ढोकासम्मै पुगेका थिए ।

अतिथिलाई स्वागत गर्न भीआईपी कक्ष र धावन मार्ग बाहिरै पाँचजना मात्र जान पाउने नियम भए पनि नेता कार्यकर्ताले नियम मिच्ने गरेको उनले गुनासो गरे ।

यो घटनाले हवाई सुरक्षाको उल्लंघन भएको भन्दै सुरक्षा निकाय, सुरक्षा गार्डलाई पत्र लेख्न लागेको विमानस्थल प्रमुख पन्तले बताए ।

‘धावन मार्गमै पुगेर राजनीतिक दलका नेता कार्यकर्ताले स्वागत गर्ने प्रवृति छ । आज प्रहरी र कर्मचारीले रोक्दा रोक्दै धावनमार्गमा कार्यकर्ता पुगे । हवाई सुरक्षा उल्लंघन गरेकाले सुरक्षा निकाय, सुरक्षा गार्डलाई पत्र लेख्न लागेका छौं,’ उनले भने । यस विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेसित कुरा गरेको प्रमुख पन्तको भनाइ छ ।

मधेश प्रदेशको अधिवेशनको उदघाटनका लागि जनकपुर आएका ओलीलाई स्वागत गर्न एमाले नेता–कार्यकर्ताहरु धावनमार्गमै पुगेका हुन् ।

विमानस्थल भित्र सर्वसाधारण र यात्रुलाई समेत बोर्डिङ पास विना जहाजको नजिक जान दिइँदैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार ओलीको स्वागत गर्ने क्रममा हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>