बजार

इजरायल–हमास युद्ध: तेलको भाउमा कस्तो पर्ला असर ?

Banner

 

काठमाडौँ, असोज २४-

इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह हमासबीच युद्ध सुरु भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा फेरबदल देखिन थालिसकेको छ । युद्धले मध्यपूर्वमा तेलको उत्पादनमा कस्तो प्रभाव पार्ला भन्नेबारे अड्कलबाजी बढिरहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिन थालेको हो ।

सोमबार लन्डनस्थित आईसीई एक्सचेन्जको कोमक्स डिभिजनमा कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ४ दशमलव २ प्रतिशतले बढेर ८८ डलर १५ सेन्टमा उक्लियो । न्यूयोर्कस्थित न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्लयूटीआई)को भाउ पनि उक्त दिन ४ दशमलव ३ प्रतिशतले बढेर प्रतिब्यारेल ८६ डलर ३८ सेन्टमा उक्लियो ।

यसैबिच मंगलबार तेल बजारमा भाउ केही घटेको छ । यो समाचार तयार पार्दासम्म मंगलबार ब्रेन्ट क्रुडको भाउ अघिल्लो दिनको भन्दा शून्य दशमलव ६ प्रतिशत र डब्लयूटीआई शून्य दशमलव ४९ प्रतिशत तल किनबेच हुँदै थियो ।

इजरायल र गाजा दुवैले उल्लेख्य रूपमा तेल उत्पादन गर्ने होइनन् । अहिले अधिकांशलाई डर चाहिँ यो युद्धले मध्यपूर्वभर नै अस्थिरता उत्पन्न गराउने अनि सो क्षेत्रको तेल उत्पादन वा तेलको ढुवानी प्रभावित हुने हो कि भन्नेमा छ । मध्यपूर्वमा इरान, साउदी अरब जस्ता विश्वका शीर्ष तेल उत्पादक देशहरू छन् । विश्वको तेल बजारमा महत्त्वपूर्ण चेकप्वाइन्टको रूपमा रहेको हर्मुज खाडी पनि यही पर्छ ।

निकट भविष्यमा तेलको भाउ कस्तो होला ?

तेलको भाउमा युद्धको असर जारी द्वन्द्वले कस्तो स्वरूप लिन्छ भन्नेमा भर पर्छ । तर अहिले नै तेलको भाउमा असर चाहिँ सीमित हुने बताउँछन् विश्लेषकहरू । गएको वर्षको सुरुतिर रुसले युक्रेनमा आक्रमण गरेपछि विश्व बजारमा तेलको भाउ बढेर कीर्तिमानी स्तरमा उक्लिएको थियो । रुस विश्वको शीर्ष तेल उत्पादन गर्ने देशहरूमध्ये एक भएकोले युद्धको प्रभावले तेलको भाउ आकासियो ।

इजरायली सेना र हमासबीचको लडाइँमा अहिलेसम्म इजरायल र गाजामा १ हजार ५०० भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । यो युद्धमा तेल उत्पादन गर्ने शीर्ष देशहरूको प्रत्यक्ष संलग्नता छैन ।

अमेरिकी लगानी बैंक मोर्गन स्ट्यान्लीले सोमबार एउटा प्रेस नोटमा भने अनुसार निकट भवियमा तेलको आपूर्तिमा अवरोध उत्पन्न हुने जोखिम निकै थोरै छ । तर द्वन्द्व अन्य देशमा पनि भड्कियो भने चाहिँ अवस्था फेरिन सक्ने उसको भनाइ छ ।

अहिलेको घटनाक्रमले तेलको भाउमा प्रभाव चाहिँ सीमित भएको कर्नरस्टोन एनालिटिक्सका अध्यक्ष तथा संस्थापक माइक रोथम्यानले भनेको भन्दै अलजजिराले एउटा समाचारमा भनेको छ । यो द्वन्द्वले विश्वमा तेलको माग प्रभावित बनाउँछ भन्ने धारणा उनको छैन । न त यसले प्रमुख तेल निर्यातकर्ता देशहरूको दीर्घकालीन उत्पादनलाई नै प्रभावित बनाउने उनले देखेका छन् । अन्यत्र कच्चा तेलको सञ्चितिमा आइरहेको कमी लगायत कारणले भने तेलको भाउ प्रभावित पार्न सक्ने रोथम्यान बताउँछन् ।

के भयो भने बढ्ला तेलको भाउ?

अहिलेका लागि तेलको भाउ बढाउन सक्ने दुई वटा सम्भावित कारण जारी युद्धमा इरान र लेबननस्थित सशस्त्र समूह हजबुल्लाहको संलग्तालाई हेरिएको छ । सीमावर्ती क्षेत्रमा तनाव बढिरहँदा इजरायलले हानेको बमबारीमा परेर आफ्ना तीन सदस्यको मृत्यु भएपछि सोमबार हजबुल्लाले एक पछि अर्को गर्दै रकेट प्रहार गरेको थियो ।

हमासले शनिवार गरेको अप्रत्याशित आक्रमणमा आफ्नो संलग्नताको इरानले खण्डन गरेको थियो । वाल स्ट्रिट जर्नलले भने सो आक्रमणमा इरानी सुरक्षा अधिकारीहरूले सहयोग गरेको दाबी गर्दै समाचार लेखेको थियो ।

इरानको संलग्नताले तेलको भाउमा पर्ने असर कस्तो होला?

अमेरिका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा इरानी तेलमाथि पुनः प्रतिबन्ध लगाएका थिए । सन् २०२२ मा इरानको तेल निर्यात र उत्पादन दुवै बढ्यो । यो वर्ष इरान र वाशिङटनले इरानको विवादास्पद परमाणु कार्यक्रमबारे छलफल पुनः सुरु गरेका थिए । हमासको आक्रमणमा इरानको संलग्नता एउटै प्रमाण भेटियो भने सो वार्ता त बिथोलिने छ नै अमेरिकाले इरानी तेलमाथि थप प्रतिबन्ध लगाउने पक्कापक्की छ ।

तेलको भाउमा हालै देखिएको वृद्धिले इजरायल र हमासबीच जारी युद्धको आगो झनै भड्किएर मध्य पूर्वका अन्य देशहरू पनि यसमा होमिने पो हो कि भन्नेप्रति तेल बजार सशङ्कित छ भन्ने सङ्केत गरेको वूड म्याकिन्जेका विश्लेषक एलन गेल्डरले भनेका छन् । तत्कालीन प्रभाव भने इरानी निर्यातमा अमेरिकाले प्रतिबन्ध लगाउने हो । यो द्वन्द्वमा इरान पनि मुछियो भने तेलको भाउ प्रतिब्यारेल ५ देखि १० डलरसम्म बढ्न सक्ने र्यापिडियन इनर्जी ग्रुपका अध्यक्ष बब म्याकनल्लीले सोमबार सीएनबीसीसँगको एउटा अन्तरवार्तामा भनेका थिए ।

अहिले तेलको भाउमा भएको वृद्धिले इजरायल र प्यालेष्टाइनबीच सन् १९७३ तेल संकटको झल्को दिएको छ । इजिप्ट र सिरियाले इजरायलमाथि अचानक आक्रमण गर्दा तेलको भाउ आकासिएको थियो । सो द्वन्द्वमा अमेरिकाले इजरायललाई समर्थन गरेको प्रतिकारमा अरबका तेल उत्पादक देशहरूले अमेरिका र यसका केही मित्र देशहरूमाथि नाकाबन्दी लगाएका थिए । यो घटना लगत्तै केही महिनामै कच्चा तेलको भाउ बढेर चौबर भएको थियो ।

तर अहिलेको अवस्था निकै फरक छ । तेलको भाउमा त्यस्तो खालको नाटकीय वृद्धि हुने सम्भावना शून्य बराबर भएको रोथम्यान बताउँछन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>