स्वास्थ्य

नेपालमै पहिलोपल्ट एकैव्यक्तिमा एकैचोटी मिर्गौला र कलेजो प्रत्यारोपण

Banner

काठमाडौं, असोज २३-

ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले चिकित्सा क्षेत्रमा दुर्लभ प्रत्यारोपण शल्यक्रिया गरेको छ । नेपालमा पहिलो पटक एक जना बिरामीको दुई महत्वपूर्ण अंगको एकै पटकमा प्रत्यारोपण शल्यक्रिया गरेको हो ।

अस्पतालका निर्देशक प्रा.डा सुरज बज्राचार्यले सोमबार चितवन भरतपुरकी ३४ वर्षीया महिलाको कलेजो र मिर्गौलाको प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिए ।

‘हामीले एकै व्यक्तिको शरिरका महत्वपूर्ण अंग (कलेजो र मिर्गौला) दुवैको एक साथ प्रत्यारोपण शल्यक्रिया सफल गरेका छौं । जुन नेपालको इतिहासमै पहिलो पटक हो,’ डा. बज्राचार्यले भने । उनलाई ३५ वर्षीय श्रीमानले उनलाई कलेजो दिएका थिए भने ३२ वर्षीया भाउजूले मिर्गौला दान गरेकी हुन् ।

बिरामी महिलामा जन्मजात रोग (प्राइमरी हाइपरोक्सालुरिया) देखिएको थियो । कलेजोका कारणले दुवै मिर्गौला बिग्रिएका थिए । मिर्गौला बिग्रिएर उनले अस्पतालबाट डायलाइसिस सेवा लिइरहेकी थिइन् । कलेजोबाट निस्किएको विषाक्त रयासनका कारण मिर्गौला खराब भएको हुन पुगेको थियो । जसको कारण बिरामीको दुवै अंग एकैसाथ प्रत्यारोपण गर्नुपरेको अस्पतालले जनाएको छ ।

शल्यक्रिया गर्न १८ घण्टाभन्दा बढी समय लागेको र शल्यक्रिया गर्न १०० जना भन्दा बढी जनशक्ति परिचालन भएको बज्राचार्यले बताए । शल्यक्रियाका लागि भारतस्थित अपोलो अस्पतालका डा. निरभ गोयल, डा।अरुणकुमार भेनुथुरिमिल्लि र डा.सञ्जीव अनेजाको सहभागिता रहेको थियो ।

यस्तै, किष्ट अस्पतालका तर्फबाट वरिष्ठ शल्यचिकित्सक प्रा.डा मुकुन्दराज जोशीको नेतृत्वमा नेपाल सरकारबाट लाइसेन्स प्राप्त डा. एकानन्द सिंह, डा.वरुण श्रेष्ठ, डा. नारायण भुसाल, डा. सन्तोष क्षेत्री, डा. कश्यप दाहाललगायत अन्य वरिष्ठ चिकित्सकहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>