खैरहनी

‘बेलैमा उपचार गरे मनोरोग निको हुन्छ’

Banner

चितवन, असोज २२–

नेपालमा कोभिड–१९ को माहामारी यता धेरै नेपालीमा मनोरोगको लक्षणहरु देखा परेका छन् । कतिपयले बेलैमा उपचार गराएर पुरानै अवस्थामा फर्कि रहेका छन् भने कतिपय यस बारे राम्रो ज्ञान र चेतना नहुँदा गम्भिर मनोरोगको समस्यामा फस्दै गइरहेका छन् । नेपालको ३३ प्रतिशत जनसंख्या कुनै न कुनै बेला, कुनै न कुनै किसिमको मानसिक समस्याबाट पीडित हुने गरेको चिकित्सकहरु बताउँछन् ।

मनोरोग विशेषज्ञ डा.गिरीराज भन्तानाले १५ प्रतिशत अर्थात् ४५ लाख नेपाली कुनै न कुनै किसिमबाट मानसिक समस्याबाट पीडित भएको बताउँछन् । विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर ब्युटिफुल माइण्ड इन्स्टिच्युट अफ साइक्याट्रीले आज (सोमबार) खैरहनी–११, सिथत गैंडाहामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा.भन्तानाले एक करोड नेपालीलाई कुनै पनि समयमा कुनै किसिमको मानसिक रोग लाग्ने बताउँछन् ।

यही अवस्थालाई मध्यनजर गर्दै खैरहनीमा ब्युटिफुल माइण्ड इन्स्टिच्युट अफ साइक्याट्री स्थापना गरिएको भन्दै मनोरोग बारे अझै चेतना फैलाउन आवश्यक रहेको उनी बताउँछन् । करिव ६ लाख बिरामीलाई आवासीय उपचार र त्यसपछि सीपमूलक तालिम र पुनस्र्थापनाको आवश्यकता हुने भन्दै डा. भन्तानाले भने–“उपचारपछि पनि यदि पुनस्र्थापना गर्न सकिएन भने रोग बल्झिएर पुरानै अवस्थामा फर्किने सम्भावना हुन्छ ।”

ब्यूटिफुल माइण्डमा हालसम्म ४३९ जनाले आवासीय उपचार सेवा लिएको भन्दै हाल ४५ जना उपचाररत रहेको डा.भन्तानाले जानकारी दिए । सोही ठाउँमा उपचारपछि १० जनाले ब्युटिफुल माइण्डमै रोजगार गरिरहेको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै मानसिक रोग विशेषज्ञ डा. शैलेन्द्र अधिकारीले बिरामीलाई तीन किसिमले उपचार गर्ने गरिएको बताए । पहिलो ४५ दिन, दोस्रो ३ महिना र तेस्रो ६ महिनाको प्याकेजमा आवश्यकताको आधारमा विभिन्न पद्धतिबाट बिरामीको उपचार गर्ने गरिएको बताए । उनले कतिपय बिरामीले सुरुमा आफू बिरामी भएको स्वीकार नगर्ने भएकाले उपचारमा केही कठिनाई हुने गरेपनि पछि आफै उनीहरु आफ्नो मनोरोगको बारेमा जानकार हुने बताए ।

कडा खालको मनोरोग भईसकेपछि बिरामीलाई आफू बिरामी छु भन्ने थाहा नहुने बताउँनुभयो । उहाँले भन्नुभयो “ओसिटी, डिप्रेसन, ईन्जाईटीमा मलाई केही न केही समस्या छ, उपचार चाहिन्छ भनेर तयारी भएर आउनु हुन्छ । कडा खालको मनोरोग लागिसकेपछि बिरामी छु भन्ने थाहा पनि हुँदैन ।”

कार्यक्रममा मनोरोग सचेतना अभियान्ता शेषनाथ अधिकारीले मानसिक रोगको उपचार सम्भव छ भन्ने कुरा व्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । आफू पनि अनिद्राको समस्याले गर्दा मनोरोगको अवस्थामा झण्डै पुगेको भन्दै सही समयमा उपचार पद्धति अपनाउँदा अहिले सहज बनेको बताए ।

ब्युटिफुल माइण्ड इन्स्टिच्यूट अफ साईकियाट्रीले स्वास्थ्य मन्त्रालयबाट ५० शैया सञ्चालनको अनुमति समेत प्राप्त गरी खैरहनी नगरपालिका वडा नं. ११ गैंडाहाबाट सेवा दिंदै आएको छ । यहाँ आवासीय सुविधा सहितको मनोचिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार हुने गरेको छ । २ विगाहा १० कठ्ठा क्षेत्रफलमा फैलिएको ब्युटिफुल माइण्डमा आवश्यक पूर्वाधारहरु निर्माण भएका छन् । बिरामीको अवस्था हेरेर ४५ दिन, तीन महिना र ६ महिनासम्म उपचार सेवा दिने गरिएको छ । उपचारपछि कुक, वेटर, ईलेक्ट्रिसियन, कृषि तथा पशुपालन, सेक्युरिटी गाडी लगायतका सीपमूलक तालिम पनि संस्थाले दिंदै आएको छ । कतिपयले यही रोजगारी गरेका छन् भने कतिपयलाई अन्यत्र रोजगारी उपलब्ध गराईएको छ ।

संस्थाको परिसरमा बहिरंग सेवा (ओपिडि सेवा) समेत दिंदै आएको ब्युटिफुल माइण्डको पर्सा बजारको मुख्य राजमार्गमा सिटी क्लिनिक सञ्चालन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>