चितवन विशेष

नारायणी किनारमा तामाङ समुदायको पात्र ‘चरीमाई’ माथि बहस

Banner

चितवन, असोज २०-

अन्जना पौडेलको उपन्यास ‘चरीमाई’ माथि गैँडाकोटमा शुक्रबार साँझ बहस गरिएको छ ।

नेपाल लेखक संघ चितवन र सम्पूर्ण किताबद्वारा आयोजित कार्यक्रममा लेखक तथा समालोचकहरु उदय अधिकारी, कवि गणेश श्रमण र शान्ती शर्माले उपन्यासमाथि चर्चा गरेका हुन् ।

कवि तथा समालोचक गणेश श्रमणले चेलीबेटी बेचबिखनको विषय महत्वपूर्ण लागेर उपन्यासकारले उठाएको विचार राख्दै उपन्यासमा कवितात्मक भाषा र जीवन बोधका विषयहरु समेटिएको बताए । उनले प्रकृतिको मानवीकरण, स्थानीय भाषाशैलीले उपन्यास पढ्न लायक बनेको बताएका छन् ।  उनले भने, ‘ उपन्यासमा चितवन, नारायणी नदी किनारको पनि दृश्यहरु छन् । केही पात्रहरु चितवनतिर पन बसाइँ सरेका छन् ।’ उनले उपन्यास नारी विद्रोहको हिसाबले उत्कृष्ट रहेको विचार राखे ।

नेपाली लेखक संघ चितवनका अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा भएको कार्यक्रममा समालोचक उदय अधिकारीले उपन्यास कलात्मक हिसाबमा कमजोर भए पनि मुद्दाको हिसाबमा उत्कृष्ट रहेको बताए । अधिकारीले भने, ‘ पहिलो उपन्यास भए पनि उत्कृष्ट रहेको छ । लेखकले राम्रो विषय छान्ने शाहस गर्नुभएको छ । आफू दुईचोटी बेचिएकी चेलीको चरित्र उठाएर अन्जनाले शाहस गर्नुभएको छ । यथार्थ पात्र उठाउनुभएको छ । ’

समालोचक शर्माले उपन्यासमाथि चर्चा गर्दै छोरी जन्मदा खुसी हुने तामाङ समुदायको एउटा पात्रको रुपमा ‘चरिमाई’ उपन्यास रहेको बताइन् । नुवाकोटको सेरोफेरोमा आधारित रहेर लेखिएको उपन्यासले दुईदुई पटक बम्बईमा बेचिएकी तामाङ समुदायको चेलीको दर्दनाक अवस्था पुस्तकले समेटेको बताइन् । उनले भनिन, ‘ अन्जना पौडेलको उपन्यास अहिलेको देशको राजनीतिक परिवेशमा पनि समसामयिक देखिन्छ । सत्ता र शक्तिको आडमा कसरी बेचिएका चेलीहरुले न्याय पाउँदैनन् भन्ने राम्रो उदाहरण बनेको छ । भारत बेचिएर १८ वर्षमा नेपाल फर्किएकी चरीमाईले न्याय पाउन सकिनन् ।’

कार्यक्रममा पाठकहरु र समालोचकहरुको आफ्नो कृतिप्रतिको धारणा सुनिसकेपछि उपन्यासकार पौडेलले विदेशबाट बेचिएका चेलीहरु नेपाल फर्कदा रोग  बोकेर शरिर नै काम नलाग्ने गरी फर्किएर आउने गरेको बताइन् । उनले गाउँ फर्किएका चेलीहरुले उल्टै अपमानित भएर बास समेत नपाउने गरेको विषयलाई आफूले उठाएको बताइन् । आफ्नी छोरी बेचेर पैसा कमाउने र घरमा छानो हाल्ने प्रवृत्ति त्यो समाजमा रहेको बताइन् । उनले भनिन्, ‘ चेलीबेटी उद्दारको नाममा फेरि बेचबिखन हुने गरेको विषय उपन्यासमा उठाएको भन्दै यो विषयका पीडितहरुले न्याय पाउन सकेका छैनन् । सबै पैसामा बिक्छन्, शक्तिको आठमा चेलीहरुमाथि अन्याय हुन्छ ।’ आफू धेरैचोटी त्यो ठाउँमा गएर अध्ययन गरेर उपन्यास लेखेको बताइन् । यो विषयलाई उठाए भने अझै धेरै मुद्दाहरु उठ्छन् भनेर उपन्यासमा यो विषय रोजेको बताइन् ।

लमजुङको दुराडाँडामा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाउँदै आएकी अन्जना मानवशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गर्दैै गरेकी प्राध्यापक हुन् । यो उपन्यास पहिलो भए पनि कृतिको हिसाबले यो उनको तेस्रो कृति हो । यसअघि उनको दुई हाइकु सङ्ग्रह, एक कथा सङ्ग्रह प्रकाशित भइसकेको छ । कार्यक्रमलाई सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>