Breaking News

ठेउवा चरा र दशैं

Banner
बुधन चौधरी-
पृष्ठभूमिः  
ठेउवा एक प्रकारको पंक्षीवर्ग (Class-Aves) को कोरासीडी परिवार ( Family-Coraciidae) भित्र पर्ने प्राणी हो भने दशैं हिन्दू धर्मावलम्बिहरुको महान चाड हो । यद्यपी अन्य धर्मावलम्बिहरुले पनि नेपालमा यो चाडपर्व मनाउने  गर्दछन् । खासगरी नेपालमा जब ठेउवा चराघर वरपर उडेको वा बसेको देखिन्छ, तब दशैं पर्व नजिकिएको महसुस गरिन्छ । के ठेउवा चरा देखिनु र दशैं पर्व नजिकिनुमा कुनै वैज्ञानिक कारणहरु छन् ? वा संयोग मात्र हो ? यहाँ यसलाई केलाउने प्रयास गरिएको छ ।
ठेउवा के हो ?
ठेउवालाई नीलकण्ठ पनि भनिन्छ । यो एक प्रकारको स्वतन्त्र रुपमा आकाशमा उड्न सक्ने चरा होे । यो चराको शरिरका बाहिरी भागका प्वाँखहरु सेतो, खैरो, कैलो, हरियो र नीलो रंगहरुको मिसावटबाट बनेको हुन्छ । ती रंगहरुको चुस्त दुरुस्त मिसावट र प्राकृतिक व्यवस्थापनले जुन सुकै मानिसको ध्यान तान्न सक्छ । उड्दा त झन गाढा नीलो पखेटाको रंग र छेउका पाटाहरुले मनै हरर बनाउँदछ ।  रंगका मिलनले भरिएका गढीलो, निर्मल एवं स्वच्छन्दपंक्षी संग हामीहरू आकर्षित हुनु पनि स्वाभावीकै हो ।
ठेउवा चरा नेपालमा दुई प्रजातीका पाइन्छन् । एउटा कोरासीया (Coracias) र अर्को युरिस्टोमस (Eurystomus) । नेपालीमा कोरासीयालाई “ठेउवा”, थारू भाषामा “ठेहुवा” र अंग्रेजीमा “Indian Roller” भनिन्छ । यसको शरिरको लम्बाई वयस्कमा ३० देखी ३४ से.मी.को हुन्छ र एउटा पखेटा देखि अर्को पखेटाको अन्तिम छेउसम्मको चौडाई ६५ देखी ७४ से.मी.सम्मको हुन्छ । यो चराले ट्यार–टयार ट्यार–टयार ठस् …. कर्कस ध्वनी निकाल्ने गर्दछ । यो चरा नेपालमा समुन्द्र सतहबाट १,०५० मीटर देखी ३,३५५ मीटर सम्मको उचाईमा पाइएको छ र खास गरि खेतबारी, आवासीय क्षेत्र, खुल्ला जंगल, र बगैंचामा प्रचुर मात्रामा देख्न सकिन्छ । यसका दुई वटा उप–प्रजातीहरु छन् । एउटा Coracias benghalensis benghalensis र अर्को Coracias benghalensis affinis
पहिलो उप–प्रजातिलाई गर्दन र तल्लो भागमा भएको कैलो–खैरो, कानको ढकनी, घाँटीको सेता डाडो धर्का र पिठ्यूँमा हरिया–हरियो रंगले सजिलै छुट्याउन सकिन्छ भने उडिरहेको समयमा पखेटा वरपर सानो हिंऊ, रंगको पेटी र पुच्छरमा गाढा नीलो अन्तिम पेटी देखिन्छ । त्यसैगरि दोस्रो उप–प्रजातीको शरिरको तल्लो भागमा बैजनी–बैजनी, खैरो, अनि घाँटीमा नीला ठाडा धर्का र पुच्छरको कुनामा गाढा छेउहरू हुन्छन् । यिनीहरूको भालेले प्रजननको बेला संसर्ग गर्नको लागी पोथी फकाउन बारम्बार घुम्ने, बटारीने गर्ने कारणले अंग्रेजीमा “Roller” भनिएको हो । यी चराहरूले चैत्रदेखी आषाढसम्म बच्चा कोरल्द छन् ।
त्यसैगरी अर्को युरिस्टोमस (Eurystomus) प्रजातीलाई नेपालीमा “लालचुच्चे ठेउवा” र थारुभाषामा “ललकिठेहुवा” र अंग्रेजीमा “Dollar-bird”भनिन्छ । यसको शरीरको लम्बाई २८ से.मी. जति हुन्छ र यो चरा समुन्द्री सतहबाट ३६५ मीटर देखि १,३०० मीटर सम्मको उचाईमा पाइन्छ । चितवनमा यो चरालाई गृष्म आगन्तुक चराको रूपमा प्रसस्त देख्न पाइन्छ तर अन्य ठाउँमा भने कमै पाइन्छ ।
लालचुच्चे ठेउवाको शरिर गाढा हरियो–हरियो हुन्छ तर ठुँड र आँखी चक्र भने रातो हुन्छ, यथपी टाढाबाट कालो देखिन्छ । उड़दाखेरी पखेटामा हिँउ, जस्तो टाटाहरू देखिन्छन् । यिनीहरु खुल्ला र उष्ण जंगलमा बस्दछन् । यी चराहरूले खासगरी उत्तर–पूर्वी अस्ट्रेलियामा बच्चा कोरल्दछन् ।
दशैँ के हो ?
नेपालमा दशैं वा विजया दशमी एउटा हिन्दु धर्मावलम्बीहरूको लागि महान चाड हो भने, अन्य धर्मावलम्वीहरुले पनि उतिकै मनाउँदछन । यो पर्व खास गरि आश्विन र कार्तिक महिनामा पर्दछ । यो पर्व शुक्ल प्रतिपदा देखि शुक्ल पूर्णिमा सम्म हाम्रो देशमा मनाउने गरिन्छ । यो पर्वलाई थारु भाषामा“दशहरा”, “भोग” जस्ता नामले चिनिन्छ । यो पर्व असत्यमाथि सत्यको जीत भएको उपलक्ष्यमा खुशीयालीको लागी लगभग पन्ध्र दिनसम्म मनाइन्छ ।
देवलोकमा महिशासुर राक्षसले देवताहरुलाई मार्ने, लखेट्ने र दुःख दिने गरेकाले शक्तिकी देवी“दुर्गाबाट उक्त राक्षसको सर्वनाश गरी देवलोकलाई जीत हासिल गराई शान्ति प्रदान गर्नुभएको उपलक्ष्यमा विजय उत्सब मनाउने गरिएको कुरा ग्रन्थहरुमा उल्लेख गरिएको पनि छ ।
के ठेउवा र दशै पर्वसंग कुनै सम्बन्ध छ ?
यहाँ दशैंको बारेमा भन्दा पनि ठेउवाको आनिबानीसंग सम्बन्धीत रही वैज्ञानिक कारणहरु खोज्ने प्रयास गरिएको छ ।
-खासगरी ठेउवा चराले चैत्र देखी आषाढ सम्ममा बच्चा कोरल्ने हुनाले उनीहरुको बच्चा हुर्किने समय र आत्मनिर्भर हुने समय दशैंको नजिक पर्ने भएकोले ती चराहरू देखिएका हुन सक्छन् ।
-ती चराहरू जहाँ किरा, फट्याङ्गाको मात्रा बढी हुन्छ त्यसको वरपर झाडी, बुट्यान वा सुरक्षित मानव घरहरुमा बस्ने गर्दछ, जसको कारण हामीहरूले देख्ने गरेका हौं ।
-ती चराहरू अत्यधिक किटनाशक बिषादी छरेको खेतबारीमा बस्न मन पराउदैनन, त्यसैले यदि यस्ता चराहरू बसेको पाईएमा त्यहाँ विषादी प्रदुषण कम छ भन्ने अनुमान गर्न सकिन्छ । त्यसैले ठेउवालाई वैज्ञानीक भाषामा Pollution indicator bird (वातावरण दुषित बताउने चरा) को रूपमा लिन सकिन्छ ।
-ठेउवाहरू बसाइ सर्ने चरा होइनन् तर एक मौसम (Season) मा एकातीर र अर्काे मौसममा अर्काे ठाउँ वरपर जान सक्छन् । त्यसैले दशैं पर्वको समयको वरीपरीको वातावरण यिनीहरूको लागी उपयुक्त हुने भएकाले हाम्रा घर वरीपरी देखिएका हुन् ।
-यी चराहरूले गुण बनाउन र बच्चा हुर्काउन टोड्को चाहिन्छ जुन बुढो र धोद्रो रूखहरूमा बढी पाइन्छ । यसले के देखाउछ भने जुन जंगलमा बढी बच्चा हुर्कने रूखका टोड्को पाइन्छ त्यो जंगल वरपर हुर्किदै गरेको ठेउवाहरू सजिलै देखिन्छन् ।
-ठेउवा चरालाई निलकण्ठ पनि भनिन्छ । निलकण्ठको अर्थ शिव भगवानको एउटा रुप हो । जसले शिव भगवानसंग साक्षात्कार भेट गराउन सक्छ भन्ने पवित्र तर अपुष्ट विश्वास छ ।
– यस चरालाई घर बाहिर जाँदा देखिएमा शुभ साइतको प्रतिकको रुपमा लिइन्छ । साथै भविष्यमा हुने कुराको संकेत दिन्छ भन्ने विश्वास छ तर त्यसको पुष्टि गर्न कठिन छ ।
-नीलकण्ठ चरामा भएको निलो रंगको प्वाँखहरूले आफुभित्र आत्मा विश्वास, स्वतन्त्रता बौदिकता, ईमान्दारीता र सक्षमताको भाव जगाउने भएको कारणले पनि यो चराप्रति हामी बढी संवेदनशील भएको हुन सक्छौँ । किनकि नीलो रंग भनेको धर्ती, आकाश र समुन्द्रको गहिराईलाई संकेत गर्ने रंग पनि हो ।
निष्कर्षः 
यी समग्र विशेषताहरुबाट के थाहा पाउन सकिन्छ भने ठेउवा चरा र दशैंको बिचमा सिधा सम्बन्धन भएपनि दशैंको बेलामा ठेउवा चरा देखिनु भनेको मौसम बदलिएको र उक्त स्थानमा कम बिषादि प्रदुषण रहेको जानकारी पाउन सकिन्छ । यसर्थ यी चराहरुले वातावरणीय कार्बन र नाइट्रोजन चक्रको सन्तुलन गर्न अहम् भुमिका खेल्ने भएकोले यिनीहरुको संरक्षण गर्नु मानव जातिको दायित्व हो भन्न सकिन्छ ।
सन्दर्भ सामाग्रीहरु (References): 
– ग्रिमेट रिचर्र्ड, ईन्सकिपक्यारोल, ईन्सकिप टिम र बराल हेम सागर.(२००३). नेपालका चराहरु । प्रकाशकः क्रिस्टोफर हेल्म लिमिटेड र ए एण्ड सी ब्ल्याक लिमिटेड, ३५ बेडफोर्ड रोड, लण्डन । आई एस बीएन: ८१–७२३४–०३६–२
– Grimmett, R.,Inskipp, K., and Inskipp, T. (2016). Birds of the Indian Sub-continent (2nded.). Oxford University Press. ISBN: 0-19-807722-X
– Shrestha, T.K. (2000). Birds of Nepal: Field Ecology Natural History and Conservation. Volume I. Published by Mrs. Bimala Shrestha. Kathmandu, Nepal. G.P.O. Box: 6133
– Shrestha, T.K. (2001). Birds of Nepal: Field Ecology Natural History and Conservation. Compact Hand Book.Volume II. Published by Mrs. BimalaShrestha. Kathmandu, Nepal. G.P.O. Box: 6133.
– Www. Google. com
(लेखकः बुधन चौधरी, वीरेन्द्र बहुमुखी क्याम्पसमा उप–प्राध्यापक तथा प्राणी शास्त्र केन्द्रीय विभाग, त्रि.वि. किर्तीपुरमा पीएचडीको विद्यार्थी हुुनुहुन्छ ।)  

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>