चितवन विशेष
भरतपुर बाइपास रोडको विशालचोकदेखि आँपटारीसम्म वृक्षरोपण गर्न त्रिपक्षीय सहमति

चितवन, असोज १८-
भरतपुर बाइपास रोडअन्तर्गत विशालचोकदेखि आँपटारीसम्म वृक्षरोपण गर्न त्रिपक्षीय सहमति भएको छ ।
भरतपुर महानगरपालिका, सडक डिभिजन कार्यालय भरतपुर र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम बीच वृक्षरोपण तथा सौन्दर्यकरण गर्ने सहमति भएको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेल र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका प्रमुख श्यामबाबु लोप्चनले संयुक्तरुपमा हस्ताक्षर गरेका हुन् ।
वृक्षरोपणका लागि सडक डिभिजन कार्यालय भरतपुरले मलिलो माटो भर्ने तथा मिडियनमा ट्राफिक नियमअनुसारको रङरोगन गर्ने सहमति पत्रमा उल्लेख छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट महानगरको मापदण्ड अनुसारको विरुवाहरु उपलब्ध गराउने तथा रोप्ने काम हुने छ । विरुवा रोपेपछि भने यसको संरक्षण तथा अनुगमनको काम महानगरपालिकाको हुने सहमति पत्रमा जनाइएको छ । महानगरपालिकाले विरुवाको लागि मिडियनको गार्डेनको दुवैतिर घेराबार तथा सिँचाईको व्यवस्था गर्नुपर्ने छ ।
विशालचोकदेखि आँपटारीसम्मको १७ सय मिटरको मिडियनमा असोज २६ गते शुक्रबार वृक्षरोपण गरिने महानगरपालिकाका वातावरण निरीक्षक लक्ष्मी ठगुन्नाले जानकारी दिइन् ।
बाइपास सडकमा यसअघि नै ३ वटा निकायको लगानीमा केन्द्रीय बस टर्मिनल चोकदेखि विशालचोकसम्म वृक्षरोपण भइसकेको छ । सडक निर्माणमा ढिलाई भएसँगै यो क्षेत्रमा वृक्षरोपण गर्न पाइएको थिएन । अहिले सडक निर्माण सम्पन्न भएसँगै वृक्षरोपणका लागि बाटो खुलेको हो । भरतपुर महानगरपालिकाले निर्माण सम्पन्न भएका सडकमा हरियाली प्रर्वद्धन कार्यक्रमलाई प्राथामिकतामा राखेको छ ।
























