Breaking News
चितवनमा दर्जन विकासका काम अलपत्र पार्ने चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

चितवन, असोज १६-
चितवनमा सडकको काम जिम्मा लिएर काम नगर्ने चार वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चितवनमा काम नगर्ने चार सहित २० कम्पनीलाई कालोसूचीमा राखेको हो ।
विभिन्न सार्वजनिक निकायबाट काम सन्तोषजनक नभएको भन्दै कालोसूचीमा राख्न लेखी आएअनुसार तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी कालोसूचीमा राखिएको कार्यालयले आज प्रकाशित सूचीमा जानकारी दिएको छ ।
भरतपुर महानगरपालिकाको सिफारिसमा भरतपुर महानगरपालिका–१ को सशक्तशरण गोले अभिषेकको निर्माण कम्पनी अर्भन कन्स्ट्रक्सन तीन वर्षको लागि कालोसूचीमा परेको छ । यो कम्पनीले भरतपुरको २८ नम्बर, १५ नम्बर वडा, ११ नम्बर र ५ नम्बरमा सडक निर्माणको ६ वटा कामहरु अलपत्र पारेको पूर्वाधार महाशाखा भरतपुर महानगरपालिकाका प्रमुख सन्तोष आचार्यले नारायणी अनलाइनलाई जानकारी दिए । त्यसैगरी भरतपुरकै वडा नम्बर २० र ६ मा सडक निर्माणको काम नगर्ने निर्माण न्यौपानेको हेटौंडा–६ को निर्माण कम्पनी शिवालय बिल्डर्स दुई वर्षलाई कालोसूचीमा परेको छ । त्यस्तै माधव घिमिरे प्रमुख रहेको भरतपुर महानगरपालिका–१ को कष्यप निर्माण सेवा र सप्लायर्स पनि काम नगरेर एक वर्ष ६ महिना कालोसूचीमा परेको छ । भरतपुर पूर्वाधार महाशाखा प्रमुख आचार्यका अनुसार यो कम्पनीले भरतपुर महानगरपालिका–५ मुनालचोक दक्षिणको बाटो निर्माणमा ठेक्का लिएर काम नै गरेको थिएन । उनले यी सबै बाटोमा पुन ठेक्का प्रक्रिया अगाडि काम भइरहेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले निर्माण सामग्रीको रेट बढेको कारणले पनि कतिपय कम्पनीहरुले काम नगरेको विचार राखे ।
भरतपुर महानगरपालिका–११ मा रहेको हेमराज बस्यालको निर्माण कम्पनी एक वर्षको लागि कालोसूचीमा परेको छ । यो कम्पनीले महेन्द्र राजमार्गलगायत भरतपुर क्षेत्रका विभिन्न सडकहरु मर्मतको ठेक्का लिएर काम नै नगरेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चन्द्रेश्वर शाहले नारायणी अनलाइनलाई बताए ।
त्यसैगरी पूर्वाधार विकास कार्यालय भरतपुरको सिफारिसमा नागार्जुन शंकरमाली जेभी काठमाडौँ, नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालि र शंकरमाली निर्माण सेवा प्रालि कालोसूचीमा परेका छन् । यी कम्पनीले मकवानपुरको सामरी पुल निर्माण नगरी छाडेको कार्यालयका प्रमु्ख वीरेन्द्र चौधरीले नारायणी अनलाइनलाई जानकारी दिए ।

























