चितवन विशेष
भरतपुरको गुरुकुलका विद्यार्थीलाई युवा व्यवसायी घिमिरेको अभिमुखीकरण

चितवन, असोज १३-
भरतपुर महानगरपालिका– ९ मा रहेको गुरुकुल माविले कक्षा– ११ मा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई व्यवसायिक अभिमुखिकरण तालिम दिइएको छ ।
गुरुकुलद्वारा आयोजित उक्त कार्यक्रममा चितवनका युवा व्यवसायी अमर घिमिरेले नेपालमा व्यवसायको भविस्य र त्यसका चुनौतीका बारेमा अभिमुखीकरण तालिम दिएका हुन् । उम्दा ग्रुफ अफ कम्पनीका प्रमुख प्रबन्ध निर्देशक रहेको घिमिरे युवा उद्यमी मञ्च चितवनको पूर्वअध्यक्ष पनि हुन् ।
घिमिरेले अध्ययन तथा रोजगारीका लागि भनेर दिनहुँ युवाशक्ति बिदेश पलायन हुँदा मुलुक बनाउने कालिगढको अभाव भएको बताउँदै युवाशक्तिले मेरो देश आफै बनाउँछु भनेर अठोट गर्नुपर्ने बेला आएको बताए । लगनशील भएर काम गर्दा देशभित्र चुनौतीहरूको सामना गर्न असजिलो नहुने पनि घिमिरेले बताए । उनले विद्यार्थीहरुलाई आफ्नो व्यापारिक योजना, अनुभव र सफल व्यवसायी बन्न अपनाउनुपर्ने तौरतरिकाहरुको बारेमा जानकारी गराएका थिए ।
गुरुकुल माविले स्थापना कालदेखि नै विद्यार्थीलाई व्यवहारिक कक्षा गराउँदै आइरहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार लामिछानेले यस्ता खालका कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञान भन्दा पनि व्यवहारिक ज्ञान दिने उल्लेख गरे । कार्यक्रम संयोजक सुशील रेग्मीले गुरुकुलले विद्यार्थीलाई पढाईसँगै अतिरिक्त क्रियाकलापमा जोड्दै आएको बताए ।

शैक्षिक निर्देशक सिर्जन अविरलका अनुसार कलेजले आफ्ना विद्यार्थीहरुलाई वर्षभरि नै नियमितरूपमा यस्ता कार्यक्रमहरु गराइराखेको र आफ्नो शैक्षिक क्यालेन्डरमा समेत समावेश गरेको जानकारी गराए ।
























