Breaking News

एमाले बागमती प्रदेश अधिवेशनमा चितवनबाट उपाध्यक्षमा लामासहित ४६ जनाको उम्मेदवारी

Banner

चितवन, असोज ११-

नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्वका लागि उपाध्यक्षमा चितवनबाट दावादोर्जे लामासहित ४६ जनाले विभिन्न पदका लागि उम्मेदवारी दिएका छन् ।

प्रदेश कमिटीमा पदाधिकारीसहित सदस्यहरुमा २४० पदको लागि चितवनबाट ४६ जनाको उम्मेदवारी परेको हो । चितवनबाट दलित, महिला र जनजाति गरेर विभिन्न क्लस्टरमा उम्मेदवारी परेको छ ।

उपाध्यक्षको उम्मेदवार दिएका लामा प्रदेश कमिटी सदस्य रहनुका साथै बागमती प्रदेशका पूर्वकृषि मन्त्री हुन् ।  त्यसैगरी बादल निकट नेता ओमराज पन्त ‘अच्युत’ ले उपसचिवमा उम्मेदवारी दिएका छन् । प्रदेशका सबै जिल्लाबाट झण्डै ९०० जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारहरुबीच सहमतिको प्रयास पनि भइरहेको छ । निर्वाचन प्रक्रिया अघि बढे पनि सहमतिको प्रयास अन्तिम समयसम्म जारी नै रहने बताइएको छ ।

प्रदेश कमिटीको अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ । रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादोर्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी दर्ता भएको छ । झण्डै ३० प्रदेश जनजाति रहेको बागमतीमा चितवनबाट उम्मेदवारी दिएका लामालाई प्रभावशाली उम्मेदवारको रुपमा हेरिएको महाधिवेशन प्रतिनिधि प्रकाश आचार्यले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ लामालाई सर्वसम्मत उम्मेदवार बनाउने प्रयास भइरहेको छ । तामाङ बाहुल्य प्रदेशमा उनले जित्ने निश्चित छ ।’

सचिवमा पनि चार जनाकै उम्मेदवारी दर्ता भएको छ । रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र डा. रामकुमार अधिकारीको उम्मेदवारी दर्ता भएको छ ।

खुला र महिला गरी दुई उपसचिवका लागि १२ जनाले उम्मेदवारी दिएका छन् । उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रिता गौतम ढकालको उम्मेदवारी परेको छ ।

साँझ ६ बजेपछि मतदान हुने जनाइएको छ । यसअघि पनि कार्यतालिक पटक पटक परिवर्तन हुँदै आइरहेको छ । अहिले उम्मेदवारको विरोधमा उजुरी, उजुरीउपर छानबिन निर्णय, उम्मेदवारको नामावलि प्रकाशन, उम्मेदवारी फिर्तालगायतको कार्यक्रम चलिरहेको छ । ५ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेपछि ६ बजे निर्वाचन गर्ने जनाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>