चितवन विशेष
‘जितिया’लगायत चितवनका थारु समुदायले मनाउने चाडमा बिदा दिन माग

चितवन, असोज १०–
चितवनका थारु समुदायले मनाउने सबै चाडबाडमा सार्वजनिक बिदा दिन माग गरिएको छ । थारु कल्याणकारिणी सभा चितवनले १३औं जिल्ला अधिवेशन मार्फत ११ बुँदे ‘भरतपुर घोषणा पत्र’ जारी गर्दै थारु समुदायले परम्पराकालदेखि मनाउँदै आइरहेको ‘जितिया’, यमोशा (पितृऔशी), फगुवाको धुरहेरीलगायत सम्पूर्ण चाडपर्वमा बिदा दिन माग गरिएको हो ।
थारु समुदायका महिलाहरुले महान् चाड हो जितिया । यसवर्ष यही असोज २० गते जितिया पर्व मनाईदै छ । यसपटक जितिया शनिबार परेकाले स्वतः बिदा हुने नै भयो । तर अरु बेला यो चाड मनाउन स्थानीय सरकारले समेत बिदा दिने गरेको छैन । अझ विद्यालयहरुमा सोही बेला परीक्षा समेत हुने गरेको छ । जसले गर्दा युवा पुस्ताले आफ्नो चाडपर्व ढुक्कले मनाउन पाउँदैनन् । यही अवस्थालाई मध्यनजर गर्दै थाकसले घोषणापत्र मार्फत नै बिदा दिन माग गरेको थाकस चितवनका सभापति ललित चौधरीले जानकारी दिए ।
यस्तै थाकसले घोषणपत्र मार्फत आगामि स्थानीय तहको निर्वाचन र प्रदेश तहमा पनि रैथाने थारुहरुलाई मेयर, उपमेयर, वडा अध्यक्षलगायत महत्वपूर्ण पदमा उम्मेदवार बनाउन चितवनका राजनीतिक दलहरु समक्ष माग समेत गरेको छ ।
त्यस्तै घोषणा पत्रमा स्थानीय निकायहरुमा थारु विकास कार्यक्रम लागू गरी थारु समुदायको आर्थिक, शैक्षिक, भाषिक, साँस्कृतिक, सामाजिक उत्थानका लागि सम्मानजनक बजेटको व्यवस्था मिलाइयोस्, संघीय र प्रदेशको कामकाजी भाषा अन्तरगत बागमती प्रदेशको हकमा चितवनमा बोलिने थारु भाषाको उपस्थिति १ प्रतिशत भन्दा धेरै भएकाले प्रदेश र स्थानीय निकायमा कामकाजीको भाषाका लागि बहुभाषिक व्यवस्था अनुरुप चितवनको थारु भाषा कामकाजको भाषाको रुपमा कायम गरियोस् लगायतका बुँदाहरु उल्लेख छ ।
त्यस्तै घोषणा पत्र मार्फत थाकसले विभिन्न किसिमका जालझेल, छलकपट, षड्यन्त्रपूर्ण तरिकाले थारु जनताको स्वामित्वयमा रहेका जग्गाहरु यो वा त्यो कारणले खोसिने र लुटिने क्रम रहेकाले त्यस्ता ठठ, लुटेरा, भूमाफियाहरु पहिचान गरी कडा कारवाही गर्न माग गरिएको छ ।


























