देश/प्रदेश
नेपालबाट भैसीको पकाएको मासु चीन निर्यात गरिने

काठमाडौँ, असोज ९-
नेपालबाट भैंसीको मासु चीनमा निर्यात गरिने भएको छ ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको अवसरमा आज बिहान नेपाल र चीनले संयुक्त १३ बुँदे विज्ञप्ति जारी गर्दै भैसीको मासु चीन निर्यात गर्ने जनाइएको हो ।
चीन नेपालबाट भैंसीको मासु आयात गर्न तयार भएको विज्ञप्तिमा उल्लेख छ । चीनको भन्सार सम्बन्धी सामान्य प्रशासन कार्यालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच उक्त सहमति भएको हो । नेपालबाट पकाएको भैंसीको मासु आयात गर्ने स्वीकृति प्रक्रियालाई तीव्रता दिन चीन तयार भएको विज्ञप्तिमा उल्लेख छ ।
बेइजिङमा सोमबार दुई देशका प्रधानमन्त्रीको नेतृत्वमा भएको प्रतिनिधिमण्डलस्तरीय बैठकपछि नेपाल र चीनबीच १२ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । संयुक्त विज्ञप्तिमा सोमबार भएका सहमतिभन्दा पनि छलफलका क्रममा भएका अन्य सहमतिलाई बढी प्राथमिकता दिइएको छ ।
संयुक्त विज्ञप्तिमा नेपाल र चीनबीच यसअघि भएका सन्धि, सम्झौता तथा समझदारीपत्रको कार्यान्वयनमा जोड दिने उल्लेख छ । नेपाल र चीनबीच चार दर्जनभन्दा बढी सन्धि, सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ । धेरै ती सम्झौता तथा समझदारीपत्रहरु काजममै सीमित भएका छन्, कार्यान्वयन भएका छैनन् या सुस्त गतिमा अघि बढेका छन् ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा त्यस्ता सम्झौता तथा समझदारीपत्रको कार्यान्वयनमा जोड दिइएको छ । ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, संयुक्त राष्ट्र संघको बडापत्रका उद्देश्य र सिद्धान्तका आधारमा दुई देशका नेताहरूबीच भएको महत्वपूर्ण सहमति र हस्ताक्षर भएका सम्झौताको कार्यान्वयनलाई थप गति दिन दुवै पक्ष सहमत भएका छन्’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
























