चितवन विशेष
थाकस चितवनको सभापतिमा पुनः ललित चौधरी निर्वाचित, सचिवमा सन्तकुमार सर्वसम्मत

चितवन, असोज ७–
थारु कल्याणकारिणी सभा (थाकस), चितवनको सभापतिमा पुनः ललितकुमार चौधरी निर्वाचित भएका छन् । उनको यो दोश्रो कार्यकाल हो ।
आइतबार विहानपख सम्पन्न भएको १३ औं जिल्ला अधिवेशनमा प्रतिद्धन्दी झलक महतो (बिर्जा) र साजन कुमार महतोलाई उछिन्दै ललित पुनः जिल्ला सभापति पदमा निर्वाचित भएका हुन् । कुल १०६ मत खसेकोमा चौधरीले ४८ मत प्राप्त गरे । साजन महतो र झलक महतोले समान १९ मत प्राप्त गरे ।
यस्तै उप–सभापतिमा पूर्ण चौधरी र भुवन चौधरी निर्वाचित भएका छन् । पूर्णले ४१ मत ल्याए भने भुवनले ३८ मत प्राप्त गरे । उपसभापतिमा प्रतिस्पर्धा गरेका मुकुन्द चौधरीले ३३ र विजय चौधरीले २७ मत मात्रै प्राप्त गरे ।

यस्तै महिला उप–सभापतिमा कल्पना पावे सर्वसम्मत निर्वाचित भएकी छन् । सचिव पदमा सन्तकुमार चौधरी सर्वसम्मत निर्वाचित भए । यस्तै सह–सचिवमा खिलाराज चौधरी निर्वाचित भएका छन् । खिलराजले ५७ मत प्राप्त गरे भने अर्जुन मर्दनियाले २६ मत मात्रै प्राप्त गरे । कोषाध्यक्षमा सविता चौधरी निर्वाचित भइन् । उनले ६० मत प्राप्त गर्दा उनका निकटमत प्रतिद्धन्द्धी बेदकुमार महतो २४ मत प्राप्त गरे ।
यसैगरि जिल्ला सदस्यहरुमा ८ जना निर्विरोध निर्वाचित भए ।
त्यस्तै केन्द्रीय पार्षदमा महिलातर्फ धञ्जु महतो (५६), चन्द्रकुमारी चौधरी (५५) र सुनिता महतो (५२) निर्वाचित भएका छन् । महिला केन्द्रीय पार्षद पदमा चार जना महिलाहरुले उम्मेदवारी दिएका थिए । सुनिता र लक्ष्मी कुमारी चौधरीको समान ५२ मत प्राप्त भएपछि लक्ष्मीले सुनितालाई नै समर्थन दिएकी थिइन् ।
यस्तै अन्य केन्द्रीय पार्षदमा बासुदेव महतो (५३), विश्राम महतो (५२), डाक्टर मनोज महतो (५०), अर्जुनप्रसाद चौधरी (४६) र जोगेन्द्र महतो (३७) निर्वाचित भएका छन् । पुरुषतर्फ केन्द्रीय पार्षदमा ५ जनाका लागि ९ जनाले उम्मेदवारी दिएका थिए ।
निर्वाचनमा कुल ११७ मतदाता मध्ये १०६ मत खसेको थियो ।
























