चितवन विशेष
डेँगु संक्रमण बढेपछि भरतपुरको टोलटोलमा सचेतना अभियान

चितवन, असोज ६-
चितवनमा साउनदेखि असोज पहिलो हप्तासम्म डेँगु संक्रमितको संख्या झण्डै ४०० पुगेपछि टोलटोलमा सचेतना अभियानहरु सञ्चालन गरिएको छ ।
स्थानीय क्लब, विद्यालय, महानगरपालिका, स्वास्थ्य कार्यालयहरु र टोलटोलमा जनस्तरबाट यस्ता अभियानहरु नियमित सञ्चालन हुन थालेका हुन् ।
भरतपुर महानगरपालिका–११ बसेनीमा रहेको मनशिक्षा मन्दिर बोर्डिङ स्कुलले वडा नम्बर ११ का १२ वटा टोलमा आज डेँगु संक्रमणबारे सचेतना कार्यक्रम गरेको छ । विद्यालयका प्रिन्सिपल इन्द्रेश शाहको संयोजकत्वमा भएको कार्यक्रममा विद्यालयका विद्यार्थी र शिक्षकहरुले विभिन्न टोलमा सरसफाइ गर्नुका साथै डेँगु संक्रमणको रोकथामबारे जानकारी गराएका छन् । ‘डेँगी रोगसम्बन्धी सचेतना तथा लामखुट्टे लार्भा खोजौं र नष्ट गरौं’ अभियानलाई मृगकुञ्ज टोल विकास संस्थाका अध्यक्ष दीपक रेग्मी र सचिव मनोज तामाङले समापन गरेका छन् । २०० जना शिक्षक र विद्यार्थीको सहभागिता रहेको विद्यालयको को अभियानमा अन्य स्थानीय समुदायले पनि सहयोग गरेका थिए ।
























