चितवन विशेष
विश्व शान्ति दिवसमा चितवनमा निकालियो ‘शान्ति पद यात्रा’

चितवन, असोज ४–
आज विश्व शान्ति दिवस । चितवनसहित देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा आत्म ज्ञान प्रचार संघ चितवनले शान्ति पद यात्रा कार्यक्रम गरेको छ ।
भरतपुरस्थित केन्द्रीय बस टर्मिनलबाट सुरु भएको शान्ति पद यात्रा बाइपास रोड हुँदै, मालपोत चोक, प्रहरी कार्यालय हुँदै चौविसकोठीमा पुगेर सम्पन्न भएको छ । पद यात्रा पश्चात शान्तिका दुत प्रेम राउतले दिएको शान्ति सन्देशको भिडियो देखाइएको थियो । त्यसलगत्तै ‘अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा विश्वमा शान्ति स्थापित गर्न म प्रतिवद्ध छु’ भन्ने व्यानरमा हस्ताक्षर गराइएको थियो । पद यात्रामा सहभागि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले हस्ताक्षर गरेर हस्ताक्षर कार्यक्रमको सुरुवात गरिएको थियो ।
विश्वमा शान्ति कायम गर्ने उद्देश्यले शान्ति पद यात्रा गरिएको आत्म ज्ञान प्रचार संघका कार्यक्रम संयोजक मोहन श्रेष्ठले जानकारी दिए । पद यात्रामा नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्काउट, आत्म ज्ञान प्रचार संघमा आवद्ध विभिन्न ठाउँका सयौं व्यक्तिहरुको सहभागिता रहेको आत्म ज्ञान प्रचार संघका शिरिष पन्तले जानकारी दिए । उनले वर्षेनी सेप्टेम्बर २१ का दिन विश्व शान्ति दिवसको अवसरमा पद यात्रा कार्यक्रम गर्दै आइरहेको भन्दै यसपटक सडक निर्माणको कार्यले छोटो दुरीमा पदयात्रा कार्यक्रम गरिएको बताए ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् ।
यस वर्षको विश्व शान्ति दिवसको नारा ‘एक्सन फर पिसः आवर एम्बिसिन फर द ग्लोबल गोल्स’ रहेको छ । शान्ति कायम गर्नु व्यक्तिगत र सामूहिक उत्तरदायित्व रहेको उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घले शान्ति प्रवर्द्धनबाटै दिगो विकास लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकारसम्बन्धी घोषणा जारी भएको पनि ७५ वर्ष पुगेको छ ।