अपराध

प्राध्यापकले आफ्नी छोरी उतीर्ण गराउन उत्तरपुस्तिका साटेको आरोपमा नियन्त्रकको गाडीमा आगजनी

Banner

विराटनगर, आसोज ३-

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको गाडीमा महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरुले आगजनी गरेका छन् ।

मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक राजन दत्तले उत्तरपुस्तिका साटफेर गरेको आरोप लगाउँदै आक्रोशित विद्यार्थीले गाडीमा आगजनी गरेका हुन् ।

विवादपछि विद्यार्थीले बुधबार पार्किङ गरेर राखिएको बा१७च ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको गाडीमा आगजनी गरेका छन् । स्नातक तहको पहिलो वर्षको परीक्षा दिएकी आफ्नी छोरीको उत्तरपुस्तिका उनले साटफेर गरेको विद्यार्थीको आरोप छ । विद्यार्थी सन्ध्या कायस्थको उत्तरपुस्तिका दत्तकी छोरी आस्थाको बनाइएको आरोप लगाइएको हो । परीक्षामा दत्तकी छोरी उत्तीर्ण भएकी छन् । दत्त सोही क्याम्पसमा अंग्रेजी विषयका प्राध्यापक हुन् ।

अंग्रेजी विषयको उत्तरपुस्तिका साटफेर गरिएका कारण सन्ध्या अनुत्तीर्ण भएको विद्यार्थी संगठनको आरोप छ । नियमित उत्तीर्ण हुने विद्यार्थीको रिजल्ट नकारात्मक आएपछि क्याम्पस प्रशासनले पुनः परीक्षा लिएको तर नतिजा नआएकाले आफू तनावमा परेको सन्ध्याले बताइन् ।

आफूले थप गरेको चार पानाको विवरण मूलकापीमा समेत लेखेको तर त्यो च्यातिएको पाइएको उनको भनाइ छ । रिटोटलिङ गर्दा पहिलेकै प्राप्तांक देखिएको र उत्तरपुस्तिका हेर्न परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिँदा थप गरिएका पेज नरहेको पाएको उनले सुनाइन् ।
सन्ध्यालाई न्याय दिलाउन आफूहरूले माग गरे पनि वास्ता नगरेको भन्दै नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियनले क्याम्पस प्रमुखलाई कामकाज गर्न नदिने चेतावनीसहित विज्ञप्ति प्रकाशित गरेका छन् । यसअघि पनि ती संगठनले क्याम्पस प्रमुख तिम्सिना र परीक्षा नियन्त्रक डिल्ली प्रसाइँलाई विद्यार्थीले उठाएको मागबारे गम्भीर भएर समस्या समाधान गर्न आग्रह गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>