Breaking News

देउवासँग मिलेको आरोप लागेका कोइरालाले बोलाए कांग्रेस संस्थापन इतर पक्षको बैठक

०
Banner

काठमाडौं, असोज १–

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि संस्थापनइतर समूहले छुट्टै बैठक बोलाएको छ।

नेता शेखर कोइरालाले १४ औं महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाएका हुन् ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको कोइरालाको सचिवालयले जनाएको छ । ०७८ मा भएको १४ औं महाधिवेशनमा शर्मा प्रकाशमान सिंह प्यानलबाट उठेर महामन्त्री जितेका थिए भने पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा पराजित भएका थिए। तर गत पुस ६ मा भएको कांग्रेस संसदीय दल निर्वाचनमा शर्मा र पौडेल संसदीय दल नेताका उम्मेदवार महामन्त्री गगन थापा पक्षमा खुलेका थिए । थापाले कोइराला प्यानलबाट महामन्त्री जितेका थिए।

कोइरालाले ०८२ मा हुने १५ औं महाधिवेशन लक्षित गरेर आफ्नो समूहलाई बलियो बनाउने प्रयास गरिरहेका छन्। कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा भोलि मंगलबार दिउँसो २ बजे बैठक बस्नेछ । कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ।

उक्त बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्न कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन् । यसअघि गत साउन २ मा बसेको केन्द्रीय समिति बैठकअघि कोइरालाले आफू पक्षको छुट्टै भेला गरेका थिएनन्। त्यसबेला सभापति शेरबहादुर देउवासँग मिलेको आरोप कोइरालामाथि लागेको थियो । तर कोइरालाले आफू कसैसँग नमिलेको प्रष्टीकरण दिएका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>