चितवन विशेष
भरतपुरमा भएको अन्तर विद्यालय तीज गीत प्रतियोगितामा शिवघाटको नारायणी विद्या मन्दिर पहिलो

चितवन, भदौं ३०-
भरतपुरमा भएको अन्तर विद्यालय तीज गीत प्रतियोगितामा भरतपुर–१६ को नारायणी विद्या मन्दिर पहिलो भएको छ ।
भरतपुरमा बोडिङ स्कुलहरुको प्रतिनिधिमूलक संस्था भरतपुर इङ्लिस स्कुल सोसाइटी (बेस) ले तीजको अवसरमा गरेको प्रतियोगितमा विद्या मन्दिर पहिलो भएको हो ।
प्रतियोगितामा भरतपुर–१२ को ग्रिनल्याण्ड स्कुल दोस्रो र भरतपुर–११ को नारायणी पब्लिक स्कुल तेस्रो भएका छन् । २४ बोर्डिङ स्कुल सहभागी प्रतियोगितामा भरतपुर बसेनीको मन शिक्षा मन्दिर चौथो र क्षेत्रपुरको सेन्ट्रल बोर्डिङ स्कुल पाँचौ भएका छन् । पहिलो हुनेलाई १० हजार, दोस्रोलाई आठ हजार र तेस्रो हुनेलाई ६ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।
बेसका अध्यक्ष इन्द्रेश शाहको अध्यक्षतामा भएको तीजगीत प्रतियोगितामा प्याब्सन केन्द्रीय सदस्य मोहन लामा प्रमुख अतिथि रहेका थिए । तीज गीत प्रतियोगिताको उद्घाटन शत्रमा लामाले कार्यक्रममा तीजको विकृति र बिसंगतिलाई हटाउँदै तीजको मौलिकता जोगाउनुपर्ने विचार राखे । त्यसैगरी बेसका अध्यक्ष शाहले संस्कृतिको जगेर्ना र संरक्षणको लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने विचार राखेका थिए ।
प्रतियोगिताको उद्घाटन शत्रमा प्याब्सन वाग्मती प्रदेशकी सदस्य ईन्दिरा कार्की प्याब्सन चितवनका प्रमुख सल्लाहकार एवम् पूर्वअध्यक्ष टिकाराम चापागाईं ,प्याब्सन चितवनकी वरिष्ठ उपाध्यक्ष सीता रिजाल ,प्याब्सन चितवनकी सहसचिव शारदा ढकाल ,प्याब्सन भरतपुर महानगरका सचिव मीनराज बस्ताकोटी, वेसका उपाध्याय शिव केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विषयवस्तु खुला राखिएको प्रतियोगिताका निर्णायकहरुमा श्रृतीसंगीत विद्यालयका सञ्चालक गायक तथा संगीतकार चन्द्रसिंह घले र संगीतकार विनोद थापा मगर रहेको बेसका सचिव विष्णुबहादुर बस्नेतले नारायणी अनलाइनलाई जानकारी दिए । सहभागी विद्यालयका शिक्षिकाहरुले देशमा देखिएका विकृति विसंगति, भ्रष्टचारलाई गीतको मुख्य विषयवस्तु बनाएका थिए ।


























