चितवन विशेष
वल्डलिंकको २८ औं वार्षिकोत्सवको अवसरमा भरतपुरमा ५२ जनाले गरे रक्तदान

चितवन, भदौं ३०-
वल्डलिंक कम्युनिकेसन चितवनले भरतपुरमा शनिवार गरेको रक्तदानमा ५२ जनाले रक्तदान गरेका छन् । वल्डलिंकको २८ औं वार्षिकोत्सव, तीज पर्व तथा आठ लाख सेवाग्राही पुगेको अवसरमा कम्पनीले रक्तदान गरेको हो । सो अवसरमा ४ महिलासहित ५२ जनाले रक्तदान गरेका थिए ।
भरतपुरको चौविसकोठीमा भएको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत वल्डलिंकले रक्तदान कार्यक्रम गरेकोमा धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले हरेक संघसंस्थाले विभिन्न पर्व र आफ्नो उत्सवमा रक्तदान गर्ने गरे रगतको अभाव नहुने वताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले वल्डलिंकले गरेको सामाजिक कामको सबैले कदर गर्ने बताउनुभयो । उहाँले यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिन समेत अनुरोध गर्नुभयो । कार्यक्रममा वल्डलिंक चितवनका शाखा प्रमुख नारायणकुमार घर्तीको सभापतित्वमा सम्पन्न भएको हो ।
























