चितवन विशेष

नारायणगढ र भरतपुरका सटर धमाधम खाली हुँदै

Banner

चितवन, भदौ २५-

कुनै समय सटर पाउन समस्या हुने चितवनको व्यस्त बजार नारायणगढमा क्षेत्रमा आजभोलि खाली हुँदै गएका छन् । हिजोआज बजार क्षेत्रका ब्यापारी भाडा बुझाउनसमेत नसक्ने अवस्थामा पुगेपछि सटर खालि हुँदै गएका हुन् । कतिपय व्यवसायीले पसल छाडेर सटर खाली गराइरहेका छन् । नारायणगढ र भरतपुर बजार क्षेत्रका मुख्य तथा भित्री सडक क्षेत्रमा सटरहरु भाडामा छ भनेर लेखेको देख्न सकिन्छ ।

भरतपुरको सिजी ल्याण्डमार्कका म्यानेजर उज्जव केसीले मलमा रहेको ६२ वटा सटरमध्ये १७ वटा खाली भइसकेको बताए । नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्म थालिएको ६ लेनको सडक विस्तार अझै सकिएको छैन । त्यही कारण यो सडकखण्ड छेउछाउका सटर भाडामा लिएर ब्यापार गर्नेहरुको व्यापार राम्रो छैन । नारायणगढ पुल्चोक नजिकै शुभकामना इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्ने सूर्यभक्त अधिकारी व्यवसाय धान्नै नसक्ने अवस्थामा पुगेको गुनासो गरे । गतबर्षभन्दा अहिले ५० प्रतिशत पनि व्यापार नभएको उनले बताए । बैंकको ब्याजका कारण पनि व्यवसायी समस्यामा परेको उनको भनाई छ ।

गत बर्षको पुसमा बजार क्षेत्रमा सडक सीमा अतिक्रमण गरेर मिचिएका संरचना सडक डिभिजन कार्यालय भरतपुरले डोजर चलाएर भत्काएको थियो । त्यही बेलादेखि भरतपुरमा खस्किएको ब्यापार व्यवसाय माथि उठ्न नसकेको उद्योग बाणिज्य संघ चितवनका उपाध्यक्ष शिरिष पन्त बताउँछन् ।

‘सडक विस्तारमा ढिलाइ भइरहे यो क्रम अझै बढ्ने उनको भनाइ छ । व्यापारमा मन्दी हुँदा पनि घरधनीले भाडा नघटाएको व्यवसायीहरुको गुनासो छ । धेरैजसो घर भाडामा लगाउनेहरु नै उद्योग वाणिज्य संघमा सदस्य रहेकाले आफूहरुको पक्षमा बोलिदिने खासै नभएको गुनासो एक व्यवसायीले गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>