चितवन विशेष
भरतपुरको चनौलीमा डेँगुसम्बन्धी सचेतना

चितवन, चनौली २०-
चनौलीमा डेँगुसम्बन्धी सचेतना कार्यक्रम भएको छ ।
नेपाल रेडक्रस सोसाइटीको ६१ औँ स्थापना दिवसको अवसरमा चनौली उपशाखाले बुधबार चनौली बजारमा सरसफाइ तथा डेँगी संक्रमणसम्बन्धी सचेतना अभियान सञ्चालन गरेको हो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका उपकोषाध्यक्ष चिजकुमार आलेले वर्षात्को महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप बढ्ने हुँदा स्थानीयले आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, ड्रम, पुराना टायरमा पानी जम्न नदिन आग्रह गरे । पछिल्लो समय चितवनमा डेँगीको सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमणको जोखिम बढेसँगै स्थानीय सरकार, टोल विकास संस्था र सरोकार राख्ने निकायहरूको सक्रियता बढ्दै गएको छ ।
यो रोग घर वरिपरी बस्ने एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । बिहान र साँझपखको समयमा यी लामखुट्टे बढी सक्रिय हुने हुँदा यो समयमा थप सचेत हुनुपर्ने उनले बताए ।
बिगत केही समयदेखि चितवनमा डेँगीका बिरामीको संख्या बढेको कारण आफ्नो घर र वरपरका स्थान सरसफाइमा विशेष ध्यान दिन रेडक्रस चनौली शाखाका सभापति ओमप्रकाश लामिछानेले चनौलीबासीमा अनुरोध गरेका छन् । यो रोग अघिल्लो वर्षको तुलनामा अप्रत्याशित तरिकाले बढ्दै गएको हुँदा लामखुट्टेको वृद्धि विकास नियन्त्रण गर्न सबै जना लागिपर्नुपर्ने उनले बताए ।
भिमनगर माविका विद्यार्थी, इलाका प्रहरी कार्यालय चनौलीका प्रहरी तथा रेडक्रसका सदस्यहरूको सहभागितामा चनौली बजारदेखि भिमनगर माविसम्मका सडक छेउमा सरसफाइ गरिएको छ ।
























