चितवन विशेष

भरतपुरमा भदौं २२ गतेबाट हुने तीज विशेष एक्स्पोको तयारी अन्तिममा

Banner

चितवन, भदौं १९-

भरतपुरमा भदौं २२ गतेबाट हुने तीज विशेष एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ ।

एक्स्पोसम्बन्धी जानकारी दिन चितवन उद्योग संघ महिला उद्यमी मञ्च र युवा उद्यमी मञ्चले संयुक्त आयोजनामा गरेको पत्रकार सम्मेलनमा तयारीबारे जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँवर र उद्यमी मञ्चकी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सृजना सोतीले मेलाको बारेमा जानकारी गराएका थिए ।

आर्थिक मन्दीको वर्तमान समयमा आर्थिक गतिविधिलाई थप चलायमान बनाई महिला उद्यमीहरुलाई दिगो उद्यमशिलताको लागि प्रेरणा दिन सहयोग मिलोस् भन्ने हेतुले तीजको अवसर पारेर चितवन मै पहिलो पटक मिति २०८० भदौ २२ गतेदेखि २४ सम्म एक्स्पो हुन गइरहेको आयोजकले जनाएका छन् ।

पत्रकार सम्मेलनमा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले महिलाहरुलाई उद्यमी बन्नका लागि प्रेरित गर्न, नेपालका लघु, घरेलु तथा साना महिला उद्यमीहरुलाई प्रवद्र्धन गर्न र उनीहरुका लागि बजार खोज्न उपयुक्त प्लेटफर्म प्रदान गर्न एक्स्पो गर्न लागेको बताए । उनले ब्राण्ड र कम्पनीको छवि बढाएर महिला उद्यमीहरूको उत्पादन र सेवाहरू प्रवद्र्धन गर्ने एक्स्पोको लक्ष्य भएको पत्रकार सम्मेलनमा जानकारी दिए । एक्स्पोको पहिलो दिन एक विशेष कार्यक्रमका बीच शुभारम्भ गरिनेछ, दोस्रो दिन उद्यमशिलता सम्बन्धी सेमिनार तथा अन्तरक्रिया आयोजना गरिनेछ भने एक्स्पोको अन्तिम दिन भदौं २४ गते ‘उद्यमशीलतामा महिलाको सहभागिता, अवसर र चुनौती’ शीर्षकमा अन्तरक्रिया गरिने भएको छ । उद्यमी महिलाहरुको समूहगत तीज गीत प्रतियोगिता समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

एक्स्पोमा हस्तकलाका सामानहरु, तीज विशेष सामग्रीहरु, स्वदेशी लत्ता कपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहना (ज्वेलरी)हरु, खाद्यान्नका परिकारहरु, मेहन्दी, सौन्दर्य सामग्री र त्यसका सेवाहरु, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामग्रीहरु, भोकेशनल तालिम केन्द्र तथा कलेजहरु, बैक तथा वित्तीय संस्थाहरुलगायतका ६० भन्दा बढी स्टलहरु रहने छन् ।

यस एक्स्पोमा एजुकेशन पार्टनरको रुपमा बोस्टन कलेज, बेभरेज पार्टनर बोटलर्स नेपाल (तराई) लि., आईएसपी पार्टनर वल्र्ड लिंक, म्यागेजिन पार्टनर नारी पत्रिका,मार्केटिङ पार्टनर इभेन्ट संसार रहेका छन् । साथै नेपाल उद्योग परिसंघ महिला नेतृत्व मञ्चको विशेष सहकार्य रहेको छ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस एक्स्पोमा १० हजार भन्दा बढी व्यक्तिले अवलोकन गर्ने र ५० लाखभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । एक्स्पोबाट बचत हुन आउने रकमलाई महिला उद्यमी मञ्चले चितवन उद्योग संघ औद्योगिक पाठशाला विभागसँगको सहकार्यमा महिला उद्यमीहरुको सीप विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>