Breaking News

भरतपुर बाइपास सडक बिस्तारमा लापरबाही: १०० दिन नहुँदै भत्कन थाल्यो पिच, काम अलपत्र

Banner

चितवन, भदौं १८–

झन्डै सात वर्ष हुँदा पनि भरतपुरको ४.४ किलोमिटर लामो बाइपास सडक निर्माण सम्पन्न हुन सकेको छैन । सरकारी निकाय र ठेकेदारको लापरबाहीका कारण भरतपुर महानगरपालिकाको मुख्य क्षेत्र पर्ने केन्द्रीय बसपार्कदेखि आँपटारीसम्मको सडक निर्माणको काम सुस्त भएको हो । सडक विस्तार नसकिँदै पीच भत्किएर खाल्डाखुल्डी बनेको छ ।

सुरुआतका चरणमा रूख कटान, विद्युतको पोल र खानेपानीको पाइप नसार्दा सडकखण्ड विस्तारमा समस्या भएको निर्माण कम्पनीले जनाउँदै आए पनि अहिले तोकिएको समयमा काम नसकेपछि आगामी चैत मसान्तसम्म म्याद निर्माण कम्पनीले माग गरेको छ । त्यसमाथि मूल्य वृद्धिलगायत विभिन्न बहाना बनाएर ठेकेदारले सडक निर्माणमा झनै ढिलासुस्ती गर्दै आएका छन् ।

सो सडकखण्डमा गरिएको कालेपत्र भत्किएकोले दुर्घटनाको जोखिम बढेको छ । भरतपुर महानगरपालिका–११ का स्थानीय ईन्द्रबहादुर बोहोराले पञ्चायतकालमा गरिएको राजमार्गको पिच अहिलेसम्म नभत्किएको अवस्थामा पाइपास सडकमा भने पिच गरेको १०० दिन पनि नबित्दै पिच भत्कन थालेको बताए । उनले सडक निर्माणमा निर्माण कम्पनी र सडक विभागले चरम लापरबाही गरेको आरोप लगाए । बोहोराले भने, ‘ भरतपुरमा गुणस्तरको निर्माणको काम नै हुन छाडेको छ । कमिसन र भ्रष्टचारले सडक निर्माणमा पनि मनपरी बढ्दै गएको छ । यस्तै मनपरीतन्त्र बढेको कारणले नागरिकले अहिले मतपत्र मार्फत् विद्रोह गर्दै छन् ।’ बोहोराले १०० घण्टामा भारतले १०० किलोमिटर सडक कालोपत्रे गरी सक्दा भरतपुरको बाइपास सडकले देशका सरकारी निकाय, ठेकेदार र इञ्जिनियरहरुलाई गिज्याइरहेको आक्रोश व्यक्त गरे ।

सडकमा खानेपानीको पाइप भएकाले ठाउँ–ठाउँमा पाइप फुटेर बाइपास सडक भत्कँदै गएको छ । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले निर्माण कम्पनी पशुपति रायमाझी जेभीले ४५ प्रतिशत काम पनि नसकेको बताए । उनले सडक निर्माणको अनुगमन गर्ने जिम्मेवारी डिभिजन सडक कार्यालयको नै भए पनि काम पूरा नगरेसम्म भत्किएको सडकबारे केही भन्न नसक्ने बताए । गत जेठ १० गतेसम्म सडक विस्तारको काम सक्ने समयसीमा भए पनि निर्माण कम्पनीले आगामी चैतसम्म म्याद थप्ने तयारी गरेको छ । सूचना अधिकारी साहले नयाँ पिचमा पानी जमेको कारणले सडक ठाउँठाउँमा खाडल परेको बताए ।

४.४ किमी बाइपास सडक विस्तार गर्न गौरी पार्वतीसँग २०७३ पुसमा सम्झौता भएको थियो । १२ करोड ८१ लाख ८२ हजाररुपैयाँमा सम्झौता भएको ठेक्काको काम पछि पुनरावलोकन भएर बसपार्कदेखि विशालचोकसम्म मात्रै चार लेनमा विस्तार गर्ने सहमति भएको थियो ।

दुई वर्षमा सक्नुपर्ने विशालचोक–आँपटारी खण्डको काम म्याद सकिसक्दा पनि जम्मा ४५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । यस खण्डको म्याद २०७८ साल फागुनमा नै सकिएको हो । कार्यालयले गएको साउनमा २०८० साल जेठसम्मका लागि म्याद थप गरेको छ । २६ करोड लागतमा २.२ किमी सडक विस्तार गर्न लागिएको हो । यस खण्डमा गरिएको पीच पनि भत्किएको छ भने पिचको लेबल पनि मिलेको छैन । पिच कतै अग्लो र कतै होचो बनेको छ । २०७७ साल असोजमा सम्झौता भएको सडक खण्डको काम दुई वर्षमा सक्नुपर्नेमा अझै सकिएको छैन । तर, निर्माणमा भएको सुस्तताले यहाँ यात्रा गर्नेलाई हैरानी बनाएको छ ।

भरतपुरको सडक निर्माण हेर्दा सरकारी निकायहरुको बीचमा नै समन्वय हुन नसकेको देखिन्छ । धेरै समय लगाएर बिजुलीको पोल सारिएको बाइपास सडकमा फेरि बिजुलीको तार भूमिगत गर्ने काम भइरहेको छ । सडक विभागले कालोपत्रे गर्छ, केही दिनमै त्यही सडक विद्युत प्राधिकरणले खन्छ । फेरि कालोपत्रे गरिन्छ, लगत्तै टेलिकम र खानेपानी ले खन्छ, फेरि कालोपत्रे गरिन्छ । यसरी सडकको बेहाल बन्ने गरेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>