अन्तर्राष्ट्रिय

एसिया कप क्रिकेट: कोहलीको कीर्तिमानमा आजमको आँखा

Banner

काठमाडौँ, भदौ १४- 

एसिया कप क्रिकेट प्रतियोगिताको १६औँ संस्करणमा शनिवार दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबिच भिडन्त हुँदै छ । प्रतियोगिताको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानबिचको खेल श्रीलंकाको केन्डीमा खेलिने छ ।

जारी एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हराएको थियो । भारतले भने जारी एसिया कपमा आफ्नो पहिलो खेल खेल्न लागेको हो । नेपालविरुद्धको खेलमा पाकिस्तानी टोलीका कप्तान बाबर आजमले एक सय ५१ रन बनाएका थिए ।

भारतविरुद्धको खेलअघि पनि पाकिस्तानी कप्तान उत्कृष्ट प्रदर्शनको तयारीमा छन् । उनले भारतविरुद्धको खेलमा अर्को एउटा कीर्तिमानमा आँखा लगाएका छन् । खासमा उनी कप्तानको रूपमा एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा छिटो दुई हजार रन बनाउने कीर्तिमान आफ्नो नाममा पार्न चाहन्छन् ।

हाल त्यो कीर्तिमान भारतका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीको नाममा छ । विराट कोहली यो एसिया कप खेल्ने भारतीय टोलीमा पनि परेका छन् । तर, उनी अहिले भारतीय टोलीको कप्तान भने होइनन् । हाल रोहित शर्मा भारतीय टोलीको कप्तान हुन् ।

भारतीय टोलीको कप्तान हुँदा कोहलीले उक्त कीर्तिमान आफ्नो नाममा पारेका थिए । उनले एक दिवसीय खेलको ३६ पालीमा दुई हजार रनको कोशेढुङ्गा पार गरेका थिए । एक दिवसीय क्रिकेटमा हालसम्म कप्तानको रूपमा कोहलीले बनाएको उक्त कीर्तिमान अन्य खेलाडीले तोड्न सकेका छैनन् ।

कोहलीको त्यही कीर्तिमानमाथि पाकिस्तानी कप्तान बाबर आजमले आँखा लगाएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा कप्तानको रूपमा हालसम्म बाबर आजमले कुल एक हजार नौ सय ९४ रन बनाएका छन् । उनले एक दिवसीय प्रतियोगिताको ३० पालीमा उक्त रन बनाएका हुन् ।

जारी एसिया कपमा शनिवार हुने भारतविरुद्धको खेल बाबर आजमका लागि एक दिवसीय प्रतियोगितामा कप्तानको भूमिकामा ३१औँ खेल हुनेछ । भारतविरुद्धको उक्त खेलमा थप सात रन बनाउन सके बाबर आजमले कोहलीबाट कीर्तिमान खोसेर आफ्नो नाममा पार्नेछन् ।

नेपालविरुद्घको खेलमा बाबर आजमले बुधबार आफ्नो खेल जीवनको १९औँ शतक प्रहार गरेका थिए । उनी एक दिवसीय प्रतियोगितामा सबैभन्दा छिटो १९ वटा शतक प्रहार गर्ने खेलाडी बनेका थिए । यसअघि त्यो कीर्तिमान दक्षिण अफ्रिकाका हासिम अमलाको नाममा थियो ।

हासिम अमलाले एक दिवसीय प्रतियोगितामा एक सय चार पाली खेल्दै १९ वटा शतक हिर्काएका थिए । बाबर आजमले भने एक दिवसीय प्रतियोगितामा एक सय दुई पाली खेल्दै १९ वटा शतक बनाएका हुन् । कोहलीले एक दिवसीय प्रतियोगितामा एक सय २४ पाली खेल्दै १९ वटा शतक प्रहार गरेका थिए ।

बाबर आजमले पाकिस्तानी टोलीको एक दिवसीय कप्तानको रूपमा जिम्बाबेसँग पहिलो खेल खेलेका थिए । सन् २०१० को अक्टोबर ३० मा खेलिएको उक्त खेलमा पाकिस्तान २६ रनले विजयी भएको थियो । त्यो खेलमा बाबर आजम केवल १९ रन बनाउँदै आउट भएका थिए ।एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>